Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
झगेन्द्र खड्का
गौरादह, १५ भदौ । गौरादह नगरपालिका भित्र रहेका बर्षौ देखिका पुराना वजारहरुमा हालसम्म पनि सन्तोषजनक परिवर्तन हुन सकेका छैनन् । गौरादह नगरपालिका भित्र यहाँको सभ्यताको विकासक्रम संग संबन्धित ऐतिहाँसिक पुराना धेरै बजारहरु छन् । तर ती बजारहरुको हालत भने कमजोर रहेको छ ।
बजार व्यवस्थापनमा सम्वन्धित निकायले चासो नदेखाउनु र नागरिकहरुमा पुरानै सोच र चिन्तन रही रहनु बजार स्तरोन्नती हुन नसक्नु प्रमुख कारण देखिएको छ ।
तत्कालिन समयमा गौरादह, जुरोपानी, महारानी झोडा, कोहवरा र बैगुन्धुरा सहित ५ वटा गाविस मिलेर बनेको गौरादह नगरपालिका भित्र ठुला साना गरी १४ वटा बजार रहेका छन् ।
नगरपालिका भित्र रहेका मुख्य गौरादह सहित ग्वालडुव्वा र दामुना बजारमा भने आंसिक सुधारका प्रयासहरु भएको पाइन्छ । अन्य बजारहरुको हालत कमजोर नै रहेको छ ।
जुरोपानी गाविस भित्रको सबै भन्दा पुरानो बजार जुरोपानी हो । यो बजार कहिले स्थापना भएको हो यकिन कसैले भन्न सकेका छैनन् । यो बजार अहिले बजार भन्न लायकको छैन । बजार लाग्ने ठाउँ नभएका कारण हाल सम्म पाडाजुगी–गौरिगञ्ज सडकको जुरोपानी चोकको छेउमा लाग्ने गरेको छ । अन्य साना बजारहरु वैराती, दुधाली, फकेर्ढिप लगाएतका बजारहरुको विकासको छाँटकांट छैन् ।
त्यसैगरी महारानी झोडा भित्रको स्कुलचौन र डोरामारी बजारको अवस्था पनि दयनीय छ । साविक कोहवरा भित्र रहेका शनिस्चरे, चप्रामारी र कोहवरा बजारले पनि फड्को मार्न सकेको छैन । नगरपालिकाको कोहवरा भित्र रहेको एक मात्र पशुबजार दामुना भने पछिल्लो दिनमा सुधारिएर बजार भन्न लायकको भएको छ । त्यस क्षेत्रमा ढल निकासको व्यवस्था, सार्वजनिक शौचालयको निर्माण समेत भइसकेको छ ।
साविक वैगुन्धुरा भित्र रहेको एउटै मात्र बजार बैगुन्धुराको अवस्था पनि नाजुक देखिन्छ । गौरादह गाविस भित्र रहेको गौरादह बजारले पछिल्ला दिनमा आएर निकै ठुलो फड्को मार्दै यस क्षेत्रको ठुलो बजार बनेको छ । यस बजारमा ग्राहकहरुले चाहेको प्रायजसो सामाग्रीहरु पाउन सकिन्छ । बजारहरु व्यवस्थित नहुदा र बजारले फड्को मार्न नसक्दा दुर्गम ठाउँमा बस्ने वासिन्दाहरुलाई आफुलाई चाहिएको सामान लिन नजिकको बजारमा नपाइए पछि टाढाको बजार धाउन बाध्य हुनुपरेको स्थानियवासी धनन्जय चुडाल बताउछन् ।
नगरपालिका भित्रको गौरादह बजारलाई व्यवस्थित गर्ने कार्य नगरपालिकाले शुरु गरिसकेको छ । बजार क्षेत्रमा टहरा निर्माण, ढलको व्यवस्था र सडक निर्माणको कार्य भइ रहेको छ । जनसंख्याको वृद्धी संगै बजार क्षेत्र सागुरो भएकाले हाटको दिन सडकमानै बजार लाग्ने गरेको छ । खुद्रा व्यापारीहरु सडकमा व्यापार गर्न वस्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानिय पवित्रा वस्नेत बताउछिन् । नगरपालिकाले बजारको भिड कम गर्न बजारको केही सेक्टर सार्ने प्रकृया अगाडी बढाए पनि हाल सम्म स्थान्तरण हुन सकेको छैन ।
ग्वालडुब्बा बजार पनि सडक छेउमा रहेकाले स्थान्तरणको प्रकृया अगाडी बढेपनि हाल सम्म स्थान्तरण हुन सकेको छैन । ग्वालडुब्बा बजार स्थान्तरणमा घर टहरा निर्माण कार्य सम्पन्न नभएकाले सार्न नसकिएको ग्वालडुब्बा बजार व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर तामाङ बताउछन् । गौरादह बजार क्षेत्र व्यवस्थित गर्न टहरा निर्माणको प्रकृया शुरु भइसकेको छ । बजार क्षेत्रमा रहेका रुखहरु काटेर ठाउँ फराकिलो बनाई टहरा निर्माणको लागी पक्की दिवाल उठाउने कार्य भइ सकेको छ ।
गौरादह बजारलाई व्यवस्थित गर्न बजारकेही सेक्टरलाई स्थान्तरणका लागी नगरपालिकाले गौरादह वार्ड नं. २ मा जग्गा व्यवस्थापन गरी सार्ने पकृया अगाढी बढाएपनि हाल सम्म टहरा निर्माणको कार्य सम्पन्न नभएकाले स्थान्तरण हुन सकेको छैन । नगरपालिका भित्रका बजारहरुमा हाल सम्म प्लास्टिक र तिर्पालको पाल ओडेर व्यापारीहरु व्यापार गर्न बाद्य भएका छन् । बजारलाई चाडो भन्दा चाडो स्तरउन्नती सहित व्यवस्थित गर्न आवस्यक छ । त्यसकालागी सम्वन्धित निकायको ध्यान जान आवश्यक छ ।
तपाईको प्रतिक्रिया