Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
गौरादह, १२ साउन २०७७ । झापाको गौरादहमा किसानहरुले पालेका गाईमा नयाँ रोगको संक्रमण देखिएको छ । नगरपालिका भित्रका किसानहरुले पालेका गाई, बाच्छा, बाच्छी र गोरुमा अत्यधिक मात्रामा यो रोग देखा परेको छ भने, भैंसी र राँगामा यसको समस्या कम देखिएको गौरादह पशु सेवा शाखा प्राविधिक दिनेश ढकालले जानकारी दिए ।

गौरादह नगरपालिकाका किसानहरुले पालेका गाईहरुमा लम्पी स्किन डिजिज भाइरस देखा परेको हुन सक्ने ढकालले बताए । करिब १५ दिनअघि गौरादहमा यो रोग देखा परेको प्राविधिक ढकालले बताए ।

यो रोग लागेपछि गाईहरुको शरिरमा फोका भएर घाउ हुने, शरिरमा डलर पैसा आकारको डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरिरका विभिन्न ठाउँमा पानि जमेर सुन्निने जस्ता रोगका लक्षणहरु देखापर्ने गरेको जनाइएको छ । केहि दिन यता किसानहरुले यस्तै समस्या लिएर आउने गरेको उनले बताए । किसानहरुले पालेका गाइवस्तुमा ज्वरो आएको समस्या लिएर आउँदा भने, गौरादह पशु सेवा शाखाले निशुल्क रुपमा ज्वरोको औषधी वितरण गरिरहेको जनाएको छ ।

यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकोले लक्षण अनुसार घाउको उपचार गर्न सकिने गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीले जानकारी दिए ।

यस्तै, गौरादह नगरपालिका भित्रका पशु सेवा प्राविधिकहरुले उपलब्ध गराएका २०७७ साउन ९ गते सम्मको तथ्याङ्क अनुसार गौरादह नगरपालिका भित्रका किसानहरुले पालेका ५ सय १ वटा गाईहरुमा, १ सय ८३ बाच्छीहरुमा , ९४ वटा बाच्छाहरुमा, ७ वटा गोरुहरुमा र ४ वटा भैंसीहरुमा गरि ७ सय ८९ वटा गाईवस्तुहरुमा लम्पी स्किन डिजिज सँग मिल्दो जुल्दोे समस्या देखा परेको पशु सेवा शाखा गौरादहले जनाएको छ । त्यस्तै लम्पी सँग मिल्दो जुल्दो लक्षणले गौरादह-४ डोरामारीका एक कृषकको एउटा गाई मरेको जनाइएको छ । भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा डाटा संकलन गरी पठाइसकेको भएपनि लम्पी कै कारण गाई मरेको हो हैन भनेर पुष्टी हुन अझै बाँकी रहेको गौरादह पशु सेवा शाखा प्राविधिक दिनेश ढकालले जानकारी दिए ।

अफ्रिकन मुलुकका पशुमा यो रोगको समस्या देखिएतापनि नेपालमा भने पहिलोपटक यो रोग देखा परेको भेट्नरी जेटिए अशोक कार्कीले जानकारी दिए । यस्तै, कमलगाउँपालिका भित्र पनि पालेका गाई वस्तुमा यो रोगको संक्रमण देखा परेको जनाइएको छ । कमल गाउँपालिका भित्र लगभग १ सय ५० वटा गाई, बाच्छा बाच्छीहरुमा यो रोगको लक्षण देखा परेको कार्कीले बताए ।

अधिकांश किसानहरुले गाई,बाच्छाको जीउभरि डाबर आएको, खानपिन छोडेको, ज्वरो आउने जस्ता समस्याहरु लिएर आउने गरेको कार्कीले बताए । कमलगाउँपालिका१ का झपड बहादुर खड्का, मनिता खड्काको बाच्छीमा , गौरीगंज-१ को मनमणि ढुंगेल र शिवसताक्षी-४ का पदम बुढाथोकीको गाईहरुमा पनि यस्तै लक्षण देखा परेको कार्कीले बताए । यस्तै, बैगुन्धुरा-९ झमक चौकका एक कृषकको एउटा गाई लम्पी सँग मिल्दोजुल्दो लक्षणले मरेको जनाइएको छ । यद्यपी पुष्टी हुन भने बाँकी रहेको भेट्नरी जेटिए अशोक कार्कीले जानकारी दिए ।

के हो लम्पी स्किन डिजिज ?
लम्पी स्किन डिजिज गाईहरुमा एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट देखिने रोग भएपनि कहिलेकाहीँ भैंसीहरुमा पनि यो रोग देखिन सक्दछ । यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान हुँदै बंगलादेश, र भारतमा पनि केही महिना अघि देखा परेको यो रोग अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दो जुल्दो लक्षण देखा परेको र यसका कारण गाईहरु बिरामी मरेको र केहि मरेको जानकारी आएको छ ।

यसका मुख्य लक्षणहरु
लम्पी स्किन डिजिज रोग लागपछी कचेरा निस्कने, सिंगान बग्ने तथा फिंज धेरै निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि गिर्खाहरु १० देखि ५० मिलिमिटरसम्मकको देखिने, १०४ फरेनहाइट वा माथि ज्वरो आउने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्ने, गर्भ तुहिन सक्ने र पछि महिनौं बाँझोपना देखिन सक्ने, २० प्रतिशत जति गाईहरु बिरामी पर्ने र १ देखि ५ प्रतिशत सम्म गाईहरु मर्नसक्ने यसका लक्षणहरु रहेका छन् ।

रोग सर्ने तरिका
लम्पी रोग सर्ने मूख्य कारण भनेको लामखुट्टे, झिङ्गा, किर्ना आदिको टोकाईको माध्यमबाट, संक्रमित गाईभैंसीको आवतजावतबाट र संक्रमित पशु र स्वस्थ पशुलाई उपचारको क्रममा एउटै सुइ प्रयोग गर्दा गाई, भैंसीहरुमा यो रोग सर्न सक्छ ।

उपचार तथा रोकथाम
उपचार तथा रोकथामका लागि खोप नेपालमा अहिलेसम्म उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्ने, संक्रमित क्षेत्रबाट पशुको आवतजावत नियन्त्रण, लामखुट्टे, झिङ्गा, किर्ना आदिको संख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्दछ ।

तपाईको प्रतिक्रिया