शुक्रबार, चैत्र १०, २०७९
Friday, March 24, 2023

खगेन्द्र नेउपाने

गौरादह कलाको उर्वर भूमि हो । राज्यको प्रतिनिधिमूलक स्थानमा गौरादहका कलाकारले उल्लेख्य सहभागिता प्राप्त गर्नुभएको छ त्यो गौरवको विषय हो । विगत पाँच दशकको इतिहासलाइ सर्सर्ती हेर्ने हो भने गौरादहका थुप्रै कलाकारहरुले यहाँको कलालाई जीवन्त बनाइरहनु भयो ।

वि.सं. २०१८ सालदेखि गौरादह विस्तारै घना आवादीको क्षेत्रका रुपमा परिणत हुँदै गएपछि यहाँका सामाजिक अगुवाहरुले शिक्षाको अनिवार्यतालाई महसुस गरी २०२१ साल तिर गौरादह, स्कूलचौन आदि स्थानहरुमा विद्यालय स्थापना गर्नुभयो । शिक्षालयहरु स्थापनाको क्रम बढ्दै जाँदा यहाँ अध्ययन गर्ने विद्यार्थीहरु र अध्यापन गराउँने शिक्षकहरुले पढाइका अतिरिक्त मनोरञ्जनमूलक कला क्षेत्रलाई पनि जागृत गराउँदै लैजानुभयो ।

वि.सं २०२४ सालमा यहाँको महत्वपूर्ण धरोहर जनता उच्च विद्यालयको स्थापनाले गौरादहको शैक्षिक जागरणलाई ह्वात्तै माथि उठाइदियो । गोपाल गाउँले , शान्ति दुखी, मनोरथ खरेल, रुद्र खरेल जस्ता बामपन्थी रुझानका ब्यक्तित्वहरुबाट जनवादी साहित्य सृजनाको अगुवाइ भयो । तिनताका दार्जिलिङ्ग नेपाली कलासंगीतको राजधानी भने जस्तै थियो । त्यहि दार्जिलिङ्बाट आएका मणिक घिसिङ्ले जनता मा.वि.मा कला क्षेत्रको सहयोगी भूमिका निर्वाह गर्नुभयो ।

तत्कालीन पञ्चायत व्यवस्थासंग सम्बन्धित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको आयोजनामा वि.सं. २०३१ सालताका दार्जिलिङ्का मन बहादुर मुखियाद्वारा लिखित “अनि देउराली रुन्छ ” नामक नाटक दार्जिलिङ् र नेपालका कलाकारहरु द्वारा हालको अमर मा.वि रहेको तत्कालीन धरम भकारीमा मञ्चन गरियो । यस्ले स्थानीय कलाकारहरुमा पनि कला सम्बन्धी हुटहुटी पैदा गर्यो । त्यसको फलस्वरुप जनता मा.विका नेपाली विषय शिक्षक घनेन्द्र शर्मा द्वारा लिखित दोस्रो परिवार नाटक स्थानीय विद्यार्थी शिक्षकको प्रमुख भूमिकामा मञ्चन गरियो । विभिन्न पर्व उत्सव र राजा महाराजाका जन्मोत्सव अवसर पारेर अनेक नाटक प्रहर्सनहरु प्रस्तुत गरिन थालिए ।

शिक्षक घनेन्द्र शर्मा , कर्ण श्रेष्ठ , नारायण बा. कार्की , कृष्ण प्र. उपाध्याय , अभिभावक मणिक घिसिङ् , सिटौला बा लगायत तत्कालीन विद्यार्थीहरु लेखनाथ निरौला , यज्ञ प्रसाईं , राम प्र पौडेल , गणेश बराल , भानुभक्त खरेल ,बाला सब्बा, गिता गिरी , वीना राई , मधू श्रेष्ठ, पर्शुराम पोख्रेल आदि गरिएका थुप्रै विद्यार्थीहरुले संस्कृति कार्यक्रमको माहोललाई तताउँनु भयो । यसै क्रममा २०३४ सालतिर देखा पर्नुभयो सीताराम ताजपुरिया । यसैबीच तत्कालीन ज.मा.विका शिक्षक घनेन्द्र प्र. शर्माको नेतृत्वमा नारायण ब. कार्की र कर्ण कु. श्रेष्ठ सम्मिलित त्रिबेणी कला केन्द्रको स्थापना भयो । यसले पनि स्थानीय स्तरमा विशेष उल्लेखनीय कार्य गरेको थियो ।

०३५ र ०३६ को राजनीतिक परिवर्तनले प्रेम र वासनामा आधारित गीत संगीत र कलाको माहोललाई जनवादी कला संगीतमा रुपान्तरण गर्यो जसको मूल कारक थियो संकल्प गीति अभियान । गौरादह मा.वि.को खुला चौरमा हजारौं दर्शकहरु माझ जे.वि. टुहुरे शम्भू राई , राजन राई आदि गरिएका कलाकारहरु सम्मिलित संकल्प गीति अभियानले शोषित पीडित जनताको मुक्तिको कामना गर्दै संघर्ष र बलिदानका गीतहरु गुन्जायमान बनाउँनुभयो जसले स्थानीय युवा विद्यार्थीहरुमा जनवादी कलार्फ तिब्र आकर्षण गर्यो ।

यसले केवल कला क्षेत्रलाई मात्र जगाएन अपितु यसले बामपन्थी राजनीति विशेष गरेर तत्कालै प्रथम महाधिवेशन सम्पन्न गरेको नेकपा मालेको राजनैतिक प्रभावलाई दिगो रुपमा स्थापित गर्यो । यस पछि स्थानियहरुकै पहलमा विभिन्न गीति कार्यक्रमहरु पचास रुपैयाँको तमसुक आदि नाटकहरु मञ्चन गरिए । लिला कार्की , ईन्द्र नेउपाने , हेमलता भट्टराई , जानुका कार्की , मेनुका काफ्ले , शिवमाया तुम्बाहाम्फे , मोहनचन्द्र कार्की , हरिमाया मैनाली आदि थुप्रै युवा विद्यार्थी कलाकारहरु सक्रीय रुपमा यसतर्फ लाग्नुभयो ।

वि.सं. २०४५ ताका ज.मा.वि. गौरादहका शिक्षक खगेन्द्र नेउपाने र तत्कालीन सञ्चालक समिति सदस्य ईन्द्र न्यौपानेको पहलमा गौरादहमा एक साङ्गितिक समूह भेला भयो त्यसमा आनन्द सुब्बा , रत्न राई , प्रेम लावती , भोला वाग्ले र गंगा कार्की आदि हुनुहुन्थ्यो । मेची अञ्चल स्तरीय राष्ट्रीय गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भयो । त्यहि बेला ईन्द्र नेउपाने र खगेन्द्र नेउपानेले भद्रपुरमा आयोजित लोकगीत प्रतियोगितामा प्रथम र द्वितीय स्थान ल्याउँन सफल हुनुभयो । यसैको प्रेरणाले गौरादहमा यहि समूह सम्मिलित नृगीना कला समूह गठन भयो ।

समयको निरन्तर प्रवाह संगै २०४५र०४६ सालमा गौरादहमा जन सहभागिताबाट सञ्चालित गौरादह बहुमुखी क्याम्पसको स्थापना भयो । यसले केहि हदसम्म यस क्षेत्रबाट उच्च शिक्षाको लागि बाहिर जाने युवाहरुलाई रोक्यो । सदा उर्जाशील ब्यक्तित्व भोजराज दाहाल ज्यूको पहलमा प्रतिभा प्रवाह नामक साहित्यिक समूह जन्म भयो यसमा गोपाल काफ्ले , टेकनाथ घिमिरे , पुण्य खरेल आदि ब्यक्तित्वहरु हुनुहुन्थ्यो । यसले पनि गौरादहको कला साहित्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्यायो ।

गौरादहको इतिहासमा पहिलो पल्ट सडक नाटक लेखन र मञ्चन गर्ने शायद खगेन्द्र नेउपानेद्वारा लिखित नाटकभित्रको नाटक हो । प्रध्यापक पुण्य खरेलले “तोरीलाहुरेको तल्लो सदन” नामक सडक नाटक लेख्नुभयो जसलाई केहि परिमार्जन गरेर खगेन्द्र नेउपानेले प्रस्तुत गरेका थिए ।

यसै मेसोमा गौरादहका केहि युवाहरु मिलेर लालिमा नाट्य समूहको गठन भयो जसमा अवीर ढुङ्गाना, अर्जुन थापा, मदन अधिकारी, टंक आचार्य, निर्मल गड्तौला, खगेन्द्र नेउपाने आदि सम्मिलित रहनुभएको थियो । यो समूहले नाटक लेखन र मञ्चनको कार्यलाई अगाडी बढाएको देखिन्छ ।

लालिमा नाट्य समूहले गौरादहमा र दमकमा नाटक प्रदर्शन गरेर गौरादह ब. क्याम्पसको स्थापनामा सानु भए पनि आर्थिक सहयोग जुटाएकोबाट कला क्षेत्रले सामाजिक कार्यमा सहयोग पुर्याएको उदारण हो । नाटकको नाम थियो पश्चाताप । लेखन अग्नि अधिकारी निर्देशन नारायण भुटानी कलाकारहरुमा मदन अधिकारी टंक आचार्य आदि ।

२०५४ सालमा लालिमा नाट्यसमूह र प्रगतिशील बौद्धिक समाज मिलेर गौरादहमा ऐतिहासिक देउसीको आयोजना गरेको थियो त्यसैको प्रेरणा लिएर टंक आचार्य लगायतको टिमले काठमाण्डौंमा सिस्नुपानी देउसी सञ्चालन गरेको देखिन्छ । त्यसैगरी एकता नाट्य समूह पनि कला क्षेत्रमा सक्रिय रुपमा अगाडि आयो । हरि बस्नेत, गोपाल खरेल, प्रेम चम्लागाई, भाइकुमार प्यासी, नैन दाहाल, सुरेन्द्र श्रेष्ठ लगाएतका कलाकारहरुको योगदान पनि गौरादह क्षेत्रको कलाको विकासमा स्मरणीय छ ।

माओवादी द्वन्दका समयमा पनि यस्ता कलात्मक कार्यहरु भएका छन् । बिहानी साहित्य समाज गौरादह मार्फत रमेश सुवेदी, महानन्द दाहाल , दीपक सुवेदी, डण्डिराज घिमिरे, माधव निरौला आदि थुप्रै युवाहरु यसपछि देखापरे । तवला बादक वीर सिं ताजपुरिया, कुमार सानु जस्ता चित्रमूर्तीकार पाएको छ गौरादहले ।

गौरादहभन्दा बाहिर गएर गौरादहको प्रतिष्ठालाई बढाइरहनु भएको छ कवि कलाकारहरुले । नरनाथ लुईंटेल , लक्ष्मण गाम्नागे , सिताराम कट्टेल(धुर्मुस) , सुवास दाहाल , सुरज चापागाईं(बान्द्रे) , कुमार कटेल, रमेश दर्नाल,  भुवन खड्का आदि थुप्रै होनहार कलाकारको नाम लिन सकिन्छ अझै थुप्रै कलाकारको नाम छुटेको छ । पछिल्लो समयमा कला चौतारी , गौरादह साहित्य समाज, दर्पण फ्लिम्स प्रालि. यस्को बींडो हो ।

गौरादहको सामाजिक साँस्कृतिक राजनैतिक र शैक्षिक क्षेत्रलाई विभिन्न प्रकारका साथ सहयोग र नेतृत्व प्रदान गर्नुहुने आदरणीय नर ब.बस्नेत , दीपक कार्की , देवी प्र. काफ्ले , पद्मराज दाहाल , केशव लोहनी , गरुडध्वज बस्नेत आदिको भूमिका विशेष उल्लेखनीय नै छ ।

अन्त्यमा सोमराज अभय जस्ता महाकाव्यकार, जगन्नाथ दाहाल, गोपाल काफ्ले, कृष्ण नेउपाने, दीपक सुवेदीजस्ता स्थानीय कवि लेखक लक्ष्मण गाम्नागे, नरनाथ लुईंटेल, सीता पाण्डे, सरोज घिमिरे जस्ता राष्ट्रीय साहित्यकार सिताराम ताजपुरिया, नैनसिं विश्वकर्मा ,थरेन्द्र बराल, सुवास दाहाल आदि गायक , अशोक फुयाल, विष्णु रिजाल जस्ता नायक सीताराम कट्टेल, घनश्याम गौतम, कुमार कट्टेल आदि हास्य कलाकार कर्ण कु. श्रेष्ठ , निलम श्रेष्ठ, नारायण ब. कार्की, कुमार सानु जस्ता चित्रकारहरुले सजिएको गौरादहको कला क्षेत्रको गौरवशाली इतिहासलाई सलाम ।

तपाईको प्रतिक्रिया