Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ४ साउन २०७७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको आन्तरिक विवादलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले पार्टी एकतालाई रक्षा र सृदृढ गर्दै जनादेशअनुसार अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बैठकले थप छलफल गर्ने निष्कर्ष निकालेको बताउनुभयो ।

बैठकमा अध्यक्षद्वय र सचिवालयका अन्य सदस्यबीच थप गृहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सहमतिसमेत भएको उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी र पार्टीमा देखापरेका विभिन्न विचारलाई पनि सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भनेर निकास निकाल्नका लागि छलफल जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको कुरा औपचारिक प्रस्ताव नबनेको जानकारी पनि दिनुभयो । पूर्वानिर्धारित स्थायी कमिटीको बैठक आज अपराह्न ३ बजे नै राख्ने सहमति पनि बैठकमा भएको छ ।

गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ । सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

यसैबीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर शिष्टाचार भेटघाट गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया