Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

मोरङ, १ साउन २०७७ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा ६ जनाको मृत्यु र १५ जना बेपत्ता भएका छन् ।

शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेशका विभिन्‍न जिल्लामा ३ सय ५८ परिवार घरबार विहीन भएका छन् । बाढी पहिरोले यस प्रदेशमा ५ करोड बाढीको धनमाल क्षति भएको प्रहरीको तथ्यांक छ ।

पहिरोमा परेर मोरङमा १, संखुवासभामा १ जना, विभिन्‍न नदीमा आएको बाढीले बगाएर झापामा २, सुनसरीमा १ र मोरङमा १ जना गरी ६ जनाको मृत्यु भएको प्रदेश १ प्रहरीका प्रवक्ता दिपक पोखरेलले बताए ।

‘पहिरोमा संखुवासभामा ११, ताप्लेजुङमा १, तेह्रथुममा २ र सुनसरीमा १ जना गरी कूल १५ जना बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘बाढी पहिरोले बगाउँदा संखुवासभामा ३ सय ७७ घर र यस प्रदेशको अन्य ८ जिल्लाका ३ सय ५८ घरधुरी घरबार विहीन भएका छन् ।’

उर्लाबारी नगरपालिकास्थित बक्राहा खोलामा आएको बाढीले १६ बिघा र कानेपोखरीमा ५ र रंगेलीस्थित चिसाङ खोलामा आएको बाढीले ४ बिघा, झापा र सुनसरीमा गरी कूल ५० बिघा धानबालीमा क्षति पुगेको पोखरेलले बताए ।

‘बाढीले तराई क्षेत्रमा ३ सय ५५ परिवारका १ हजार ६ सय ४९ र पहाडी जिल्लाका १ सय ७३ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तर अहिले उनीहरु आ–आफ्ना घर फर्किदै छन्,’ उनले भने, ‘बाढी पहिरोले करिब ५ करोड मूल्य बराबरको धनमाल क्षति भएको छ ।’कान्तिपुर

तपाईको प्रतिक्रिया