Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

बिर्तामोड, २८ असार २०७७ । अविरल वर्षाका कारण झापाको कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका-६ का १० घर डुबानमा परेका हुन् ।

भारी वर्षाका कारण कनकाईमा आएको बाढी शनिबार रातिदेखि मिलन बस्तीमा पसेको हो । बस्तीमा ८२ घरपरिवारको बसोबास छ । उनीहरुमध्ये ४० घर डुबानमा परेकाले ती घरका सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष राजकुमार यादवले जानकारी दिए । डुबानमा परेका परिवारका सदस्यलाई नजिकैको रघु टोलमा ल्याएर राखिएको उनले बताए । कनकाईको बाढीले वडाको सालमारामा १५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको वडाध्यक्ष यादवले बताए ।

कनकाई नदीको बाढी बस्तीमा पस्दा गौरीगञ्ज-१ होकलबारीमा ३० घर डुबानमा परेका छन् । कनकाईको बाढी नदी किनारको बाँध ओभरफ्लो भई बस्तीमा पसेको हो । बाढीले बस्तीसम्म जाने बाटो समेत अवरुद्ध भएकाले उद्दार टोली पुग्न कठिनाइ भइरहेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । कनकाई नदीको बाढीले शिवसताक्षी–६ पुरानो शिवगञ्ज बजारका १० घर डुबानमा पारेको छ । नदी किनारको बाँध फुटाएर बाढी बस्तीतर्फ बस्दा १० घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारेको वडाध्यक्ष मनोज खुलालले बताए । पानी परिरहेकाले थप १५० घर डुबानको उच्च जोखिममा रहेको उनले बताए ।

जिल्लाकै पालिया खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–७ सिद्धार्थ टोलका ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदी किनार कटानको उच्च जोखिममा परेकोले ९ घरका ४२ जनालाई सुरक्षित स्थान प्यारिभिट्टाको बसपार्कको भवनमा ल्याएर राखेको डीएसपी थापाले बताए । झापा गाउँपालिकाको ७ नम्बर वडास्थित मदरगाछ बजार पश्चिमको तीन टोलिया बस्तीमा बसोबास गर्नेहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । कनकाई नदीको बाढीले डुबानको उच्च जोखिममा रहेका तीन टोलियाका १७ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वडाध्यक्ष नेत्र उप्रेतीले जानकारी दिए ।

यसअघि कनकाई नदीको बाढीले शनिबार शिवसताक्षी-१० स्थित सुकुम्बासी बस्तीका ४ परिवार विस्थापित भएका थिए । उनीहरुलाई रेडक्रसको सहयोगमा नजिकैको चौरमा टेन्ट लगाएर राखिएको छ । नदीहरुमा आएको बाढीले बगाउँदा शनिबार झापामा एक व्यक्तिको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

बिरिङ नदीमा आएको बाढीले झापा गाउँपालिका ५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो । शनिबार दिउँसो मलामी गएका उनलाई पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । नदीले बगाएर बेपत्ता बनाएको उनलाई आफन्त, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा साँझ घटनास्थलदेखि ३ किलोमिटर टाढा मृत अवस्थामा शव फेला परेको डीएसपी थापाले बताए ।

जिल्लाकै मेची नदीको बाढीले बगाउँदा भद्रपुर नगरपालिका-३ का ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन् । अपरान्ह साढे ४ बजे मेची नदीको नाउँघाटमा नुहाउने क्रममा राईलाई बाढीले बगाएको थियो । उनको खोजी कार्य जारी रहेको डीएसपी थापाले जानकारी दिए ।कान्तिपुर

तपाईको प्रतिक्रिया