Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २५ असार २०७७ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कूटनीतिक पत्र पठाएर विरोध जनाएको खुलेको छ । भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी दिएको थिएन ।

भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक भएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिएका हुन् ।

‘भारतले नेपाली भूमिलाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको रहेछ । जसमा भारतले कुनै पनि प्रतिक्रिया नदिएको पाइएको छ, बिडारीले भने, नेपालले नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको जानकारी परराष्ट्रले दिएको छ ।’

गत नोभेम्बरमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको थियो । त्यसयता नेपालले पटकपटक सीमाबारे वार्ताका लागि समय तोकेर पत्र पठाएको थियो । तर, भारत सरकारले भने नेपालको पत्रप्रति चासो दिएको थिएन । कुनै प्रतिक्रिया दिएको थिएन ।

लिम्पियाधुरा भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यतिबेला पनि नेपालले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पठाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेको थियो । उसले नेपालका केही कुरा भएमा कोरोना भाइरसको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै आएको थियो ।

नेपालसँग वार्ता टार्दै आएको भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि भने नेपालले नक्सा जारी गरेको थियो । नेपाल सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेको एक महिनापछि भारतले कूटनीतिक नोट पठाएको हो ।कान्तिपुर

तपाईको प्रतिक्रिया