Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौ, २१ असार २०७७ । राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै यसका विरुद्ध लड्ने रणनीति सार्वजनिक गरेका थिए । त्यसको अर्को दिन भेटमा ओली र दाहालबीच सवालजवाफ भएको हो । दाहाल र ओलीबीच भएको संवादबारे दुवै समूहले आ–आफ्ना निकट नेताहरुलाई बताएका छन् ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटारमै मन्त्रीहरु बोलाएर गलत सूचना प्रभाह गरेको भन्दै दाहालले पनि असन्तुष्टि पोखेका थिए ।

दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको स्रोतले जानकारी दियो ।

शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिएका थिए । बालुवाटारबाटै प्रधानमन्त्री आफैंले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको बताएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो ।

ओलीसँग भेट गर्नुअगाडि दाहाल पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरिएको नेता खनालले बताए । हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्नेसमेत बताएका थिए ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने रु कि प्रधानमन्त्रीको विपक्षमा जाने र? तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् । तर, म तर अन्तिमसम्म यसको सामना गर्छु’प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग भनेका थिए ।

प्रधानमन्त्रीको भनाईमा कृषि मन्त्री घनश्याम भुसाल र उर्जा मन्त्री बर्षमान पुनले आपत्ति जनाएका थिए । उर्जामन्त्री पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताएका थिए । मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्ष ओली र दाहालबीच सवालजवाफपछि थप संवाद सोमबार गर्ने सहमति बनेको थियो । त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । चार नेताको गृहकार्यपछि सोमबार ओली–दाहालबीच संवाद गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठक बस्ने नेताहरुको तयारी छ । आइतबार दाहाल र ओलीसँगै पौडेल, पुन, पोखरेल र शर्मा पनि बालुवाटार छलफलमा उपस्थित थिए ।

नेकपाको स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ । नेकपामा दाहाल–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने अडानमा छ । ओलीले अन्तिमसम्म लड्ने तर राजीनामा नदिने जवाफ दिएका छन् । यही विवादले असार १० बाट बसेको स्थायी कमिटी बैठक पटक–पटक स्थगित भएको छ । दुवैपक्ष भावी कदमबारे विमर्शमा जुटेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया