Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, १५ असार २०७७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सलहलाई केन्द्रित गरी विशेष मौसम बुलेटिन निकाल्न थालेको छ ।
शनिबारदेखि सलह आगमन भएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बुलेटिन सुरु गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

सलहलाई केन्द्रीत गरी महाशाखाले सोमबार बुलेटिन सार्वजनिक गर्दै मंगलबारदेखि वायु पूर्वी दिशातिर सक्रिय हुने बताएको छ । वायु जतातिर बग्छ, सलहको झुण्ड त्यतैतिर गइरहेको देखिन्छ ।

मंगलबारदेखि पूर्वतिर बहने हावाको गति अधिकतम् ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । महाशाखाकी मौसमविद् विभूती पोखरेलले सोमबार बेलुकीसम्म पूर्वी वायु प्रदेश ५ सम्म सक्रिय हुने बताइन् । तर, कर्णाली र सूदूरपश्चिम प्रदेशको सुर्खेतमा दक्षिणी पश्चिम वायु सक्रिय देखिएको छ । दक्षिणतिरबाट उत्तरतिर वायु सक्रिय भएकै कारण सोमबार कर्णाली र सूदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पनि सलह देखिएको छ ।

केही दिनयता मनसुनको अरेबियन शाखाबाट बहने वायु दक्षिण पश्चिम (भारतीय सीमाक्षेत्र) बाट उत्तरतिर (नेपालको भाग) बहेको र त्यही वायुले भारतको उत्तर प्रदेश र बिहारबाट सलह ल्याएको विशेषज्ञहरुले विश्लेषण गरेका छन् । यतिबेला मनसुनको न्यून चापीय रेखा पनि नेपाल नजिक (दक्षिण तिरको भारतीय भू(भाग)मा छ ।

सोमबार पनि दिनैभरी प्रदेश ५ का केही भाग बाहेक दक्षिणतिरबाट पूर्व र पश्चिमभागतिर वायु सक्रिय भयो । त्यसको गति ३५ देखि ४५ किमि प्रतिघण्टा थियो । वायुको गति अनुसार सलह फैलिरहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विशेषज्ञहरुले मौसमविद्हरुसँग सहकार्य गर्दै नियन्त्रणका उपायहरु अपनाइरहेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया