Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १३ असार २०७७ । कमल गाउँपालिकाका विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । कमल गाउँपालिका-२ को ज्योति माध्यमिक विद्यालयको ज्योति सभाहलमा सम्पन्न भएको हो ।

कमलनगर जेसीजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा अनलाइन भिडियो मार्फत ११ गते उत्कृष्ट १० विद्यार्थीहरु छानिएको थियो भने, सोहि १० उत्कृष्ट विद्यार्थीहरुबाट आज अन्तिम चरणमा स्कुलको सभाहलमा सामाजिक दुरी कायम गर्दै ‘परिवर्तनका लागि सकारात्मक सोच’ शिर्षकमा विद्यार्थीहरुले आ आफ्नो तर्कहरु प्रस्तुत गरेका थिए ।

वक्तृत्वकलाको निर्णायकमा पुरुषोत्तम गौतम र सुधा सुब्बा रहनुभएको थियो । प्रतियोगितामा ७ वटा विद्यालयका १० जना विद्यार्थीहरुले वक्तृत्वकलामा सहभागिता जनाएका थिए ।

परिवर्तनका लागि सकारात्मक सोंच शिर्षकमा भएको वतृत्वकला प्रतियोगितामा कमल-५ को मंगलमय माविका विद्यार्थी रञ्जना बस्नेत प्रथम भएकी छन् । यस्तै, कमल-४ सरस्वती माविका आयुष्मा सोडारी दोस्रो स्थान ल्याउन सफल भएकी छन् भने, कमल-२ कमला मदन आश्रित माविका सेवीका पराजुलीले तेस्रो स्थान ल्याउन सफल भएकी छन् ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कमलगाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, नेपाल शिक्षक महासंघ कमल अध्यक्ष हिम प्रसाद दाहाल, एन प्याब्सन अध्यक्ष हजेन्द्र बस्नेत र शैक्षिक संवाद समिति अध्यक्ष मोहन कुमार बगालेले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

सोअवसरमा कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले यस्तो विषम परिस्थितिमा पनि लकडाउनको समयलाई सदुपयोग गर्दै घरमा खालि बसिरहेका विद्यार्थी भाइबहिनिहरुको हौसला बढाउन र उनिहरुको बौद्धिक क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले कमलनगर जेसीजले यस्तो राम्रो कार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

कोरोना भाइरस महामारी फैलिएको बेला यस जोखिम परिस्थितिमा विद्यार्थी भाइबहिनिहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कमल नगर जेसिज वर्ष २०२० का कोषाध्यक्ष तथा वक्तृत्वकला प्रतियोगिताका संयोजक नारायण बस्नेतले बताए ।

कमलनगर जेसिज वर्ष २०२० का अध्यक्ष हेम दाहालको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । त्यसअवसरमा सहभागी सबै विद्यालयलाई कदर पत्र वितरण गर्नुका साथै सहभागी सबै विद्यार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया