Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

तुलसीप्रसाद निरौला
विर्तामोड, ११ असार २०७७ । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण अन्तिम चरणमा पुगेको छ ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं.१ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।

बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणको एक वर्षको अवधिमा ९० लाख बराबरको निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ ।

झापा नाटक घरको निर्माणका लागि झापा क्षेत्र नं.२ की संघीय सांसद् पवित्रा निरौला खरेलले सांसद बिकासकोषबाट विनियोजन गरेको १५ लाख र प्रदेश सांसद एकराज कार्कीले सांसद बिकासकोषबाट विनियोजन गरेको १० लाख रुपैयाँ , प्रदेश सरकारले विनियोजन गरेको ४० लाख, विर्तामोड नगरपालिकाले विनियोजन गरेको १० लाख, सहारा नेपालले प्रदान गरेको १० लाख र एक व्यक्ति एक इँटा समर्पण अभियानदेखि ५१ हजारसम्मको सहयोग समर्पण अभियानबाट १० लाख गरी जम्मा ९५ लाख रुपैयाँ प्राप्त भएको र निर्माण कार्यलाई तीब्रता दिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले वताए ।
उनले झापा नाटक घरको दर्शक प्रेक्षालय, कलाकार आवास गृह, अतिथि आवास गृह, कार्यालय, शौचालय, भोजनालय निर्माण भइसकेको र स्टेज निर्माणलगायत अन्य फिनिसिङ कार्य वाँकी रहेको जानकारी दिए ।

आगामी एक वर्षभित्रमा झापा नाटक घरको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने र त्यसपछि बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय निर्माण शुरु गरिने उनले वताए ।

बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय निर्माणका लागि हाल डीपीआरको काम भइरहेको र ५० करोडको लागतमा बहुबर्षिय योजनाबाट बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय निर्माण गरिने उनले जानकारी दिए ।

यसैवीच बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा बिर्तामोड १ नम्वर वडा कार्यालय र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाले इँटा प्रदान गरेका छन् ।
जग्गादाता मनोज निरौलाको अध्यक्षता तथा विर्तामोड वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त इँटा वरावरको रकम प्रदान गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वडाका कर्मचारी समेतको सहभागितामा एक व्यक्ति एक इँटा अन्र्तगतको तीन हजार सातसय रुपैयाँ प्रदान गरेका थिए भने नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्के र सचिव योङचन्द्र आङ्बुहाङले टोलभरिका करिव ६५ घर सदस्यबाट संकलित इँटा वरावरको १० हजार एकसय ८० रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि आफू लागीपर्ने वताए ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले सवैको साथ र सहयोगविना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले सवैलाई उक्त कार्यका सहयोग गर्न अपिल गरे ।

सोही कार्यक्रममा क्षितिज नाट्य समूह झापाका वरिष्ठ उपाध्यक्ष तथा झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले सामाजिक क्षेत्र पुरस्कारका लागि अक्षयकोष स्थापनाका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । उनले बाबुआमा यज्ञनिधि भण्डारी र रेणुका भण्डारी तथा श्रीमती चन्द्रकला भण्डारीको स्मृतिमा हरेक वर्ष सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न सामाजिक क्षेत्र पुरस्कारका लागि रकम प्रदान गरेको वताए ।

कार्यक्रममा झापा नाटक घर निर्माण अनुगमन समितिका संयोजक प्रेमप्रसाद खरेल, सदस्य मीरादेवी भट्टराई, वडा सचिव टीका अधिकारी, सामाजिक अभियन्ता रञ्जु प्याकुरेल लगायतले झापा नाटक घर निर्माण सफलताका लागि शुभकामना दिएका थिए ।
क्षितिज नाट्य समूह झापाका सदस्य माधव सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।

तपाईको प्रतिक्रिया