Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ९ असार २०७७ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएपनि समयमा नतिजा नआउँदा विद्यार्थीहरु अन्योलमा छन् ।

असार मसान्तसम्म विद्यालयबाट मूल्यांकन भएमा साउन दोस्रो सातासम्ममा एसईईको नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अवस्था सामान्य थियो भने असारको पहिलो साता या दोस्रो सातामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आइसक्ने थियो ।

तर, कोरोना कहरका कारण चैत ६ गतेदेखि सञ्चालन गर्न समयतालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो ।

चार लाख ८२ हजार विद्यार्थी साढे दुई महिना अलमलमा बसेपछि सरकारले गत जेठ २८ गते विद्यालयको आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय गरेको थियो । जसलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्नुपर्ने थियो ।

विद्यालयबाट यसअघि हुँदै आएको मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणीकरण गर्नेगरी काम भइरहेको छ ।

एक त परीक्षा नै दिन नपाएको र अर्को नतिजा आउनमा ढिलाइ हुँदा विद्यार्थीहरु चिन्तित छन् ।

देशभरका चार हजारभन्दा बढी विद्यालयलाई ‘क्वारेन्टिन’स्थल बनाइएको छ । कतिपय ठाउँमा विद्यालय प्रशासन नै सुचारु अवस्थामा छैनन् । यसले एसईईको नतिजामा अझ ढिलाइ हुनसक्ने बोर्डको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाइबाट असार मसान्तसम्ममा विद्यार्थीको मूल्यांकन आएमा साउन दोस्रो सातामा एसईईको नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्र पौडेल बताउनुहुन्छ ।

आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयमा संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ ।

‘लकडाउन’का कारण परीक्षा रोकिएकोमात्र होइन, नतिजा प्रकाशनमा समेत समस्या आएको छ ।इमेज

तपाईको प्रतिक्रिया