Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
काठमाडौं, १ भदौ । आजबाट मुलुकमा नयाँ मुलुकी संहिता २०७४ लागु भएको छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको १६५ बर्ष पुरानो ‘मुलुकी ऐन’ प्रतिस्थापन गर्दै २०७५ भदौ १ बाट नयाँ संहिता लागू भएको हो ।
संसदले गत साउन २६ गते पारित गरेको ‘मुलकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको हो ।
नयाँ कानुन लागु भएपछि नागरिक ऐन, गाली वेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐनलगायत १५ वटा पुराना कानुन खारेज भएका छन् ।
‘मुलुकी अपराध संहिता’अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्य्विधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन छन् । मुलुकी अपराध संहिता अन्तर्रा्िष्ट्रय फौजदारी न्याय प्रणालीमा आधारित छ ।
नयाँ मुलुकी अपराध संहितामा ६ वटा अपराधमा आजीवन कैद तोकिएको छ । अवदेखि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारे, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि २० वर्ष जन्मकैदको व्यवस्था भएकोमा नयाँ कानुनमा २५ वर्ष बनाइएको छ ।
संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने, जथाभावी घर निर्माण गर्न नहुने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था गरेको छ ।
लागू हुन लागेको ऐनले कसैको सहमति बिना वा बिभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने जो कोहीलाई पनि कानुनी कारबाही हुने व्यवस्था गरेको छ । धर्म परिवर्तन गराउने काम अपराध भन्दै यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
यसैगरी दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही गरिने व्यवस्था ऐनमा स्पष्टसँग छ । ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय पनि उल्लेख छ ।
नयाँ ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था पनि गरेको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था नयाँ ऐनमा छ ।
यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना हुने ऐनमा उल्लेख छ ।
अपराध संहिताका विशेषता
–सार्वजनिक आवागमनमा बाधा पुर्याए ३ बर्षसम्म केद्य वा ३० हजार रुपैयाँसम्म जरिवाना ।
–झुटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो त्यसैको आधासम्म साजय हुन सक्ने ।
–खाद्य पदार्थमा मिसावट गरे ५ बर्षसम्म केद्य र ५० हजारसम्म जरिवाना ।
–राष्ट्रिय गान, झण्डा, र निसान छापको अपमान गरे ३ बर्षसम्म कैद हुन सक्ने ।
नयाँ ऐनमा विवाह गर्ने उमेर पनि पहिले भन्दा २ वर्षले बढाइएको छ । मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरे वा गराए त्यस्तो विवाह बदर हुनसक्नेछ ।
यस्तो अबैद्य विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । यसअघि विवाह गर्ने उमेर महिलाको १८ वर्ष र पुरुषको २० वर्ष थियो ।
यस्तै बलात्कार अभियोगमा संलग्नलाई घटनाहेरी २० बर्ष सम्मको कैद र सोही अनुरुपको क्षतिपूर्ती तोकिएको छ ।
देवानी संहिताका विशेषता
–केटाकेटी दुवैले २० बर्ष नपुगी विवाह गर्न नपाइने ।
–मञ्जुरी नलिई कसैको तस्वीर खिच्न नपाइने, नीजि जीवनबारे प्रकाशन र प्रशारण गर्न नपाइने ।
–सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत जान सक्ने ।
–बाउ–आमा दुवैका आधारमा सन्तानको पहचिान हुने ।
–गर्भको शिशु पनि अंशको हकादार हुने ।
–कसैलाई पनि दिनमा ८क घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने ।
यस्तै पत्नीको मञ्जुरी बिना पनि पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था ऐनमा ल्याइएको छ । पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा वा पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेको ठहरेमा पतिले पत्नीको मञ्जुरी बिना सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरिएको हो ।
यस्तै नयाँ ऐनमा सार्वजनिक रुपमा अश्लिल किताब तथा अश्लिल पर्चा बनाउने काममा रोक लगाइएको छ । यस्तो गरेको पाईए सो मा संलग्नलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।
सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लिल गालिगलौज गर्न पनि बर्जित गरेको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यसैगरी अब घर निर्माण गर्दा पनि जथाभावी सडक नै छेकिने गरि निर्माण सामाग्री राख्न नपाईने व्यवस्था छ । यस्तै कसैले घर निर्माण गर्दा भत्काउँदा वा मर्मत गर्दा त्यस्तो कार्यबाट हुन सक्ने खतरालाई रोक्न आवश्यक बन्दोबस्त नगरेमा पनि कसुर ठहर हुने ऐनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया