Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ४ असार २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १६ गतेभित्रै एमसीसी ‘सम्झौता’ संसदबाट अनुमोदन हुने संकेत दिएका छन् ।

ओलीले एमसीसीको विरोध गर्नेहरूलाई ‘टाउकाले टेकेर हिँड्ने’हरु भन्ने कडा टिप्पणीसमेत गरेका छन् ।

बिहीबार राष्ट्रियसभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीको विरोध गर्नेहरूलाई ‘अनपढ’ भन्दै कटाक्षसमेत गरे ।

उनले ‘कागले कान लग्यो भन्दैमा कागको पछि नदौडिन’ आग्रहसमेत गरे ।

सरकारका राम्रा कामकोसमेत प्रशंसा नभएको गुनासो गरेका ओलीले केही व्यक्तिहरु सरकारलाई बदनाम गराउन सडकमा ओर्लिएको भन्दै आक्रोश पोखे ।

कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले १० अर्ब रुपैयाँ तल्लो तहमा पठाइएको दाबी गरे ।

नेपालमा कोरोना संक्रमण साउन अन्त्यतिर उच्च विन्दुमा पुग्ने विश्लेषण गर्दै ओलीले ‘कोरोनाका कारण २० जनाको मृत्यु भएको भन्ने कुरा सत्य होइन’–भने ।

अन्य रोगले मानिसहरुको मृत्यु भएपनि विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नुपर्दा मृतक संख्या बढी देखिएको उनको तर्क थियो ।

प्रधानमन्त्रीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको पनि दोहोर्‍याए ।

राष्ट्रियसभामा समेत बेसारको गुणको चर्चा गर्दै उनले आफूलाई सडकमा समेत उडाएको भन्दै कटाक्ष गरे ।

‘क्वारेन्टिन’स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंक हो भन्दै उनले घटनामा संलग्न सबैलाई कारबाहीको दायरमा ल्याइने दाबी गरे ।

तपाईको प्रतिक्रिया