Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठ्माडौं, ४ असार २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रमाणीकरण गरेकी छन् । विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।

योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभामुख अग्नि सापकोटाबाट प्रमाणित गराएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते र राष्ट्रियसभाबाट बिहीबार पारित भएको थियो । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया