Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ४ असार २०७७ । अनिश्चतकालका लागि स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद भइरहेका बेला बैठकको मिति तय भएको हो ।
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटमा स्थायी कमिटी बैठकको मिति तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ओली र दाहालबीच बुधबार साँझ भेट भएको हो ।

यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

वैशाख ३१ मा बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । त्यसबेला स्थायी कमिटीका सबै सदस्यको कोरोना परीक्षण गरेरमात्र बैठक बस्ने भनिएको थियो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए । तर, धेरै पछि २५ वैशाखका लागि बोलाइएको बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो ।

नीति तथा कार्यक्रम र बजेटअघि स्थायी कमिटी बोलाउने र नबोलाउने मात्रै होइन, २४ वैशाखमा बसेको सचिवालय बैठकले छलफलका एजेन्डा नै तय गर्न नसकेपछि २५ वैशाखका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको थियो । पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।कान्तिपुर

तपाईको प्रतिक्रिया