Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ७ जेठ । गौरादह नगरपालिका भित्र रहेका बिपन्न परिवारलाई वितरण गरिने राहत कार्यक्रमलाई प्रभावकारी बनाउदै क्वारेन्टाइनको संख्या थप गर्न पत्रकारहरुले नगरपालिकालाई सुझाव दिएका छन।

गौरादह नगरपालिकाले यस क्षेत्रमा सक्रिय भई पत्रकारीता गरिरहेका सञ्चारकर्मीहरुसंग बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर भित्र रहेका अति बिपन्न परिवारको पहिचान गरि राहत वितरण गर्न सल्लाह दिएका छन्। पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढी रहेकाले भाइरसको जोखिम बाट बच्न अन्य देशबाट रोजगारी गरेर फर्किएका नागरिकहरुलाई सुरक्षित तवरले राख्न क्वारेन्टाइनको संख्या थप गर्नुपर्ने सुझाव दिएका छन्।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्दै नागरिकहरुलाई सजक गराउन अपनाउनु पर्ने सजकता र सुरक्षाका विषयमा संचारकर्मीहरुको धारणा बुझ्न नगरपालिकाले अन्तरक्रिया आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।
विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट नागरिकहरुलाई सजग गराउन संचारकर्मीहरुको अहम भुमिका रहेकाले नागरिकहरु समक्ष सत्यतथ्य समाचार सम्प्रेषण गरि सुसूचित गराउन पत्रकारहरु समक्ष प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी गराए। भाइरसको जोखिम रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि जस्तै संचारकर्मीको पनि उत्तिकै योगदान रहेकोले उनीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षाका लागि नगरपालिकाले गर्ने सहयोगका विषयमा छलफल गरिएको थियो ।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओझाले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय र यसबारे जनचेतना फैलाउन नगरपालिका पुर्ण रुपमा लागि परेको बताउदै संचारकर्मीहरुले पनि साथ सहयोग पुर्याएकाले पत्रकारहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षा गर्नु स्थानिय सरकारको जिम्मेवारी रहेको बताए । अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुले दिएका सुझावहरुलाई टिपोट गरी कार्यपालिकाको बैठकमा निर्णयार्थ पेश गर्ने प्रमुख प्रशासकिय अधिकृत ओझाले बताए।

कोरोना भाइरसको जोखिम बढी रहेकाले यस अवधिभर संचारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापनको उपलब्धता, पीसिआर टेस्ट, स्वास्थ्य सामाग्रीको उपलब्धता र नियमित रुपमा नगरपालिकाको सूचना उपलब्धता गराउने विषयमा छलफल भएको थियो । त्यस अवसरमा नगरपालिकाले एन ९५ मास्क र सेनिटाइजर संचारकर्मीलाई वितरण गरेको थियो।

यस्तै, गौरादह नगरपालिकाले वडा नं.७ को ग्वालडुब्बामा २० वटा बेडको क्वारेन्टाइन स्थापना गरेको जानकारी गराएका थिए। नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ९७ जनासहित जम्मा ११ सय जनाको स्वास्थ्य जाँच गरिएको र सबैको अवस्था सामान्य रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी गराएका थिए। अहिले गौरादह नगरपालिकाको क्वारेन्टाइनमा वडा नं. ५ का ३१ वर्षीय १ जना पुरुष मात्र रहेको श्रेष्ठले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन गरेपछि नगरपालिकाले ५ स्थानमा फिभर क्लिनिक स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको जानकारी गराउदै वृद्ध वृद्धा, गर्भवती महिला, बालबालिका, कार्यालयमा कार्यरत कर्मचारी, गाडीमा यात्रा गर्ने यात्री, सिनेमा हल, विद्यालय, सैलुन ब्युटीपार्लर,स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका अन्य व्यक्ति तुलनात्मक रुपमा बढी जोखिम रहेको सह संयोजक श्रेष्ठले बताए।

गौरादह नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले कोरोना भाइरसको जोखिमबाट बच्न नागरिकहरु पनि सचेत हुनुपर्ने बताउँदै स्थानीय सरकार नागरिकको जिउ धनको सुरक्षाका लागि प्रयासरत रहेको बताएका थिए।

वडा नं.७ का वडा सदस्य अमरदास शिवाकोटीले अन्य देशमा काम गरेर नेपाल फर्कनेको संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै तत्कालै नगरपालिका भित्र क्वारेन्टाइन बढाउन आवश्यक रहेको बताएका थिए । अन्तरक्रियात्मक कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारी, वार्ड नं. ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरे, वडा नंं ७ का वडा सदस्य अमरदास शिवाकोटी र स्थानीय संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया