Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, ६ जेठ २०७७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन गर्न थालेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताएका हुन् ।

उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।

क्लिनिकल ट्रायलमा रहेको औषधि खाएको राष्ट्रपति स्वयंले खुलासा गर्दै भने, ‘तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन् । धेरैले यो औषधि खाएका छन् । र मैले पनि यो औषधि खाइरहेको छु ।’

हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्छ भन्ने प्रमाण के छ भन्ने प्रश्नमा उनले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’

औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै उनले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गरे ।

आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी दिए । उनले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भने ।

अमेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो ।

तपाईको प्रतिक्रिया