Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भूषण यादव
वीरगन्ज, २ जेठ । आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित व्यक्ति भाग्न खोजे सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गरिएको छ । पर्साको वीरगञ्जको नारायणी आस्पतालको आइसोलेसनबाट बुधबार मात्र दुई जना संक्रमित अस्पतालको शौचालयको भेन्टिलेसन फोडेर भागेका थिए ।

दुबैलाई प्रहरीले नियन्त्रणमा लिई पुनः आइसोलेसनमा राखेको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसको लागि सरक्षा निकायलाई गोली समेत चलाउने अधिकारी प्रदान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो ।

जिल्लामा कोभिड–१९ संक्रमित दिनदिनै बढ्न थालेको र नारायणी अस्पतालको आइसोलेसन वेड पर्याप्त नभएकाले आइसोलेसन बेड थप गर्ने सम्बन्धमा नारायणी अस्पतालले आवश्यक पहल गर्ने समेत निर्णय भएको छ ।

तत्कालको लागि कोभिड–१९ को संक्रमण पुष्टि भएता पनि कुनै लक्षण नदेखिएका सामान्य अवस्थामा रहेका व्यक्तिहरुको लागि सिद्धार्थ माविमा आइसोलेसन वार्ड स्थापना गरी त्यहाँ राख्ने व्यवस्था मिलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैशाख ३० गते साँझ ८ बजेदेखि जिल्लाभरि लागू गरिएको निषेद्याज्ञालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

यस्तै, जिल्लामा कोभिड–१९ संक्रमणका शंकास्पद व्यक्तिहरु बढ्दै गएकोले त्यस्ता शंकास्पद व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिहरुलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

साथै, कोही कसैले तोकिएका शर्त र मापदण्ड पालना गर्ने र सुरक्षा निकायको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिई समूहमा बस्न चाहेमा त्यस भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने निर्णय भएको सहायक प्रजिअ बस्नेतले बताउनुभयो । हालसम्म पीसीआर परीक्षणको लागि स्वाब दिएका तर क्वारेन्टाइनमा नराखिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

संक्रमण देखिएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नको लािग जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने वीरगञ्ज रक्सौल सीमानाका, आइसीपी, सुख्खा बन्दरगाह यही जिल्लामा रहेकोले देशभरी अत्यावश्यक मालवस्तु तथा अन्य सामाग्रीको आपूर्ति सहज बनाउन र राजश्व परिचालनमा समेत सहयोग पुर्‍याउन आयात निर्यातसँग सम्बन्धित व्यवस्थापनमा सहजीकरण गर्न जरुरी देखिएकोले भन्सार कार्यालयका कर्मचारी तथा भन्सार जाँचपाससँग सम्बन्धित भन्सार एजेन्ट, आयात एवं निर्यातकर्ता र तिनका कर्मचारीलाई पास वितरण गर्ने अधिकार सम्बन्धित भन्सार कार्यालयलाई नै प्रदान गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया