Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सबिन खतिवडा
गौरादह, २ जेठ २०७७ । झापाको गौरादहका खानेपानी उपभोक्ताले पानीको महशुलमा तीन महिनाको छुट पाउने भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समिति गौरादहले लकडाउनको कारण समस्यामा परेका आफ्ना उपभोक्तालाई तीन महिनाको न्युनतम् महशुलको २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

उपभोक्ता समितिको वैशाख ३१ गते बसेको बैठकले लकडाउनको समयको चैत्र, वैशाख तथा जेठ गरी तीन महिनाको न्युनतम महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको समितिका अध्यक्ष बाबुराम भण्डारीले बताए ।

गत चैत्र ११ गतेबाट लकडाउन सुरु भए संगै रोकिएको मिटर रिडिङ तथा कार्यलयबाट पानी महशुल भुक्तानीको कारोबार पनि जेठ १ गतेबाट पुन संचालन गरोको छ । अध्यक्ष भण्डारीका अनुसार समितिले सो तीन महिना अवधिको पानी महशुल सम्बन्धीको कुनै पनि हर्जाना समेत नलिने निर्णय गरेको छ ।

न्युनतम् आठ हजार लिटर पानी खपत गरेबापत प्रति महिना लिने न्युनतम् १०० रुपयाँ महसुलको २० प्रतिशतका दरले तीन महिना सम्मको छुट दिने निर्णयले लकडाउनको समस्यामा भोगिरहेका उपभोक्तालाई प्रत्यक्ष राहत पुगोस् भनेर सो निर्णय गरिएको समितिका सचिव डण्डिराज घिमिरेले बताए । लकडाउनको समय अवधिभर महशुल भुक्तानीको कउण्टर विहान १० बजेदेखि दिउसो १ बजे सम्म संचालन हुने तथ अन्य सेवाहरु भने यथावत सुचारु रहेको सचिव घिमिरेले जनाएका छन् ।

२ हजार ५ सय उपभोक्तहरुलाई गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चौबीसै घण्टा पानी वितरण गर्दै गरेको बताइएको छ । यस खानेपानीले उपभोक्ताहरुलाई आइएमइपे र इसेवा मार्फत महशुलको अनलाइन भुक्तानी सेवा समेत उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया