Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १ जेठ । नेपालमा हालसम्म २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये पुरुष १ सय ९८ जना र महिला ४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ३ सय ६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा= विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो ।

यस्तै, हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । गत २४ घण्टामा २ हजार ८ वटा आरडीटी परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।

यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौं उपत्यकामामा ६ जना र उपत्यकाबाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए । गत २४ घण्टामा थप ४ जना थपिएसँगै रेडजोनमा पर्ने व्यक्तिको संख्या ३ सय ५९ पुगेको छ ।

यस्तै, नेपालमा देखिएका अधिकांश कोरोना संक्रमितहरुको उमेर समूह २० देखि ५० वर्ष रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले नेपालमा देखिएका संक्रमितहरु २० देखि ५० वर्ष उमेर समूहका रहेको बताए । उनले सबै व्यक्तिमा संक्रमण देखिएको बताउँदै सबै उमेर समूहकाहरुलाई संक्रमण हुन सक्ने बताए । उनले सबैलाई सचेत र सजग रहन आग्रह गरे ।

तपाईको प्रतिक्रिया