Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, वैशाख ३१ । देश अहिले ‘लकडाउन’को अवस्थामा छ । तर, यसबीचमा पनि सवारी दुर्घटनाको संख्या भने निकै देखिएको तथ्यांक छ ।

लकडाउनको अहिलेसम्मको अवधिमा देशभर ७०७ ओटा दुर्घटना भएका छन् । जसमध्ये ३६६ चारपांग्रे, ३१५ दुईपांग्रे र अन्य २६ ओटा सवारी–साधन दुर्घटनामा परेका छन् ।

गत चैत ११ गतेदेखि ३० गतेसम्म ठूला–साना गरी १९२ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । ५५ जना गम्भीर घाइते भएका छन् ।

२०७६ चैत ११ गतेदेखि २०७७ वैशाख २८ गतेसम्ममा तथ्यांक हेर्दा दुर्घटनाका कारण ६७ जनाको मृत्यु भएको छ । १६३ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

लकडाउनको समयमा चलेका अनावश्यक गाडीलाई रोकेको, अतिआवश्यक र पास भएका गाडीलाई मात्रै चल्न दिएको प्रहरीले जनाएको छ ।

गाडी धेरै नचल्दा सडक खाली देखिन्छ भने अनुमतिप्राप्त गाडीमात्रै चल्दा पनि गति निकै तीव्र हुने गरेको छ ।

सडकमा सवारी–साधन कम हुँदा तीव्रगतिमा चलाउने भएकोले पनि दुर्घटना गम्भीरखालको देखिएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीको भनाइ छ ।

सवारीको गति कम गर्नका लागि काठमाडौं उपत्यकामा विभिन्न ‘चेक प्वाइन्ट’ खडा गरिएको छ ।

४६ ठाउँमा संयुक्त चेक प्वाइन्ट, १५२ ठाउँमा अतिरिक्त ट्राफिक परिचालन गर्नुका साथै रातको समयमा पनि ३९ ठाउँमा स्थायी ड्युटीको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीको भनाइ छ ।

यी सबै ड्युटी र चेक प्वाइन्टले सवारी–साधनको गति र अनावश्यक आवत–जावत रोक्ने काम गरिरहेको प्रहरी प्रवक्ता शाहीले बताए ।

लकडाउनको समयमा सवारी पासको दुरुपयोग गरी सवारी चलाउनेको संंख्या पनि धेरै देखिन्छ । दुर्घटनामा पनि यस्तै सवारी चलाउनेहरु धेरै रहेको पाइएको छ ।

यसर्थ, अत्यावश्यक काममा बाहिर निस्कनेहरुले पनि सवारीको गति सीमित पार्नु ध्यान दिनु जरुरी देखिन्छ ।इमेज

तपाईको प्रतिक्रिया