Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्नको अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेसन सेन्टर’ निर्माण निर्देशिका तयार पारिएको छ ।

विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।

सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेसन सेण्टर निर्माण निर्देशिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) सँगको सहकार्यमा निर्देशिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए । उनकाअनुसार निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो ।

उक्त निर्देशिकामा ५० शय्याको आइसोलेसन सेण्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ । महासचिव खनालका अनुसार उक्त निर्देशिका बमोजिम नेपालले पनि अन्य देशसरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेसन सेन्टर निर्माण गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया