Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार

गौरीगंज, २९ वैशाख । गौरीगंजका एक व्यापारीले म्याद गुज्रिएको उन्नत जातको गहुुँको बिऊ बिक्री गर्ने उद्देश्यले धोई पखाली सुकाएको अवस्थामा फेला परेको छ। एक सिजन मात्र रहने गहुँको बिऊ बिक्री नभएका कारण घरमा रहेकाले धोएर सफा बनाई घाममा सुकाएको अवस्थामा स्थानीयले देखेपछि वडा कार्यलयमा जानकारी गराएका थिए।

वडा नं.३ का वडाध्यक्ष मखना महत्तो सहितको टोलीले निरीक्षण गरि गहुँको बिऊ बरामद गरेको थियो। गौरीगंज गाउँपालिका वार्ड नं.३ स्थायी घर भएका रविन पौद्वारले म्याद नाघेको करिब २ सय ८० केजी उन्नत जातको गहुँको बीउ धोई पखाली घाममा सुकाईरहेको अवस्थामा फेला परेको हो। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको म्याद गुज्रेको उन्नत जातको बीउ फेला परेको उद्योग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष तथा वडा नं.३ का अध्यक्ष मखना महतोले जानकारी गराए।
फेला पारिएको सुधारिएको गहुँको बिऊको ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँको प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएको छ । गहुँ बाली लगाउने समय कार्तिकर मंसिर महिना भएकाले गहुँको बोरामा राखिएको ट्याग अनुसार गहुँको बिऊमा विषालु औषधीबाट उपाचार गरिएकाले गहुँ बिक्री गर्न धोई पखाली गरेको हुन सक्ने अनुमान गरिएको छ।

गहुँको बिऊ एक सिजन भन्दा बढी राख्दा म्याद सकिने भएकाले बोरामा भएको ट्याग अनुसार गहुँको म्याद गुज्रिसकेको हो। धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पौद्वारले ८ क्वीन्टल गहुँको बीउ अर्का स्थानिय व्यापारी गौरीगंज गाउँपालिका वार्ड नं.३ घर भएका पाण्डब झासंग एक हप्ता अगाडि खरिद गरेका थिए। खरिद गरिएको गहुँको बिऊ म्याद गुज्रिएकाले घरमा राख्नका लागि धोएर सुकाएको पौद्वारले बताए। गहुँ बिक्री गर्ने उद्देश्य नभएको पनि जानकारी गराए।

बीउ विजनका लागि ल्याईएको विषादीयुक्त गहुँलाई धोई पखाली घाममा सुकाएर तयार पारी गहुँ अन्य साना व्यापारीहरूलाई पौद्वारले बेच्ने गरेको अन्य ब्यापारीहरुले आरोप लगाएका छन् । बजारमा गहुँको पिठो बनाई बेच्ने खुद्रा साना व्यापारीहरूले रविनसंग सोही गहुँ खरिद गरि लाने गरेको बताएका छन। कृषकलाई बेच्न ल्याईएको गहुँको बीउ समय सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालको गहुँको मूल्य भन्दा कम दर रेटमा पौद्वारलाई बेचेको व्यापारी झाले स्वीकार गरे।

विउको गहुँ धोई पखाली घाममा सुकाएपछि हेर्दा शुद्ध र खानलायक जस्तो देखिने भएकाले पौद्वारले धोएर सुकाएको एक स्थानियले बताए। धोए पनि विषादी पखालेर नजाने भएकोले खान नहुने गहुँ उपभोक्तालाई बेचिरहेको पाईएकोले त्यस्ता व्यापारीलाई शक्त कार्वाही हुनु पर्ने स्थानीयले माग राखेका छन्। फेला पारिएको म्याद गुज्रिएको गहुँको बीउ हाल वार्ड नं.३ को कार्यालयमा स्थानिय प्रहरीको रोहवरमा राखिएको छ।

तपाईको प्रतिक्रिया