पत्रपत्रिका, समाचार

काठमाडौं, २८ बैशाख २०७७ । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ ।

त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ छ ।

दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको संख्या सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार देशभर दुई लाख ७८ हजार ४५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपियाँ छ ।

तपाईको प्रतिक्रिया

Comments