Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

पत्रपत्रिका, समाचार

काठमाडौं, २७ वैशाख २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका साथ अघि बढ्न पनि आग्रह गरेका हुन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – संघीय संसद्को छैटौँ अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेको कारण प्रधानमन्त्री ओलीले सांसदलाई लिखित अनुरोध गरेको बताइएको छ । संसद्को दुवै सदनका बैठकहरू छोटा छरिता र मर्या्दित एवं विषय केन्द्रित हुनुपर्ने भन्दै उनले सदनमा दलका एकता र विषयगत एकरूपता देखिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले छलफलका औचित्य, आवश्यकता र सम्भावना हेरी साना भेटघाट आयोजना गरिने जानकारी दिएका छन् । उनले राष्ट्रिय परिस्थितिअनुरूप संसद् सुरू हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकिएको प्रसङ्ग उल्लेख गरेका छन् ।

निर्देशनमा प्रधानमन्त्री ओलीले कोरोना भाइसरबाट बच्न सामाजिक दूूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूको सुझाव पनि उल्लेख गरेका छन् ।

लिखित निर्देशनमा तोकिएको मापदण्ड अनुसार सिट व्यवस्थापनलगायतका आवश्यक तयारी गर्न सम्भव नभएकोले बैठक हुन नसकेको जानकारी गराइएको छ । यद्यपि संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया