Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २५ वैशाख । नेपालमा तीनजनामा पुनः कोरोना संक्रमण देखिएको छ । २२ जना कोरोना संक्रमितहरु निको भइसकेका मध्ये तीनजनामा पुनः संक्रमण देखिएको कारण समुदायमा फेरि डर बढेको छ ।

तर, एकपटक निको भइसकेका बिरामीमा भाइरस ‘पोजिटिभ’ देखिँदा डराउनु नपर्ने विज्ञहरुले बताएका छन् ।

कोरोनाभाइरसबाट पूर्णरुपमा निको भएका काठमाडौंका एक र वीरगन्जका दुई पुरुषमा पुनः संक्रमण देखिएको छ ।

एकपटक निको भइसकेका व्यक्तिमा किन दोहोरिन्छ त संक्रमण ? अथवा नेपालका ल्याब नै भरपर्दो छैनन् कि ? भन्ने प्रश्न उब्जिएका छन् ।

अन्य देशहरुमा हेर्ने हो भनेपनि कोरोना संक्रमण पूर्णरुपमा निको भइसकेका व्यक्तिहरुमा पुनः संक्रमण देखिएका थुप्रै उदाहरणहरु छन् ।

चीनमा समेत १४ प्रतिशतमा संक्रमण दोहोरिएको थियो । जापान र दक्षिण कोरियामा पनि पुनः संक्रमण देखिएको छ ।

दक्षिण कोरियाले पुनः संक्रमणमा अनुसन्धान गर्दा १ देखि ३ प्रतिशत व्यक्तिमा दोहोरिनसक्ने सम्भावना देखिएको थियो ।

जनस्वास्थ्यविद् डा. पदमबहादुर चन्द संक्रमण दोहोरिने सम्बन्धमा यकिन भन्न नसकिने भन्दै मानिसको शरीरमा भाइरसको अवशेष बाँकी रहेको हुनसक्ने वा अरु कुनै संक्रमित व्यक्तिबाट संक्रमण भएको हुनसक्ने बताउँछन् ।

संक्रमित व्यक्तिको शरीरले भाइरसविरुद्ध ‘एन्टीबडीज’ बनाइरहेको हुन्छ । जसका कारण पुनः संक्रमण देखिएपनि त्यसले अन्य व्यक्तिलाई सार्नसक्ने सम्भावना निकै कम हुने र त्यसको असरसमेत कम हुने हुँदा डराउनु नपर्ने डा.चन्द बताउँछन् ।

नयाँ भाइरस भएका कारण यसको स्वरुप परिवर्तन हुनसक्ने र नमुना संकलन तथा परीक्षणमा समेत फरक परेका कारण पनि पुनः संक्रमण देखापरेको हुनसक्ने उनी बताउँछन् ।

संक्रमितको संख्या बढ्दै गएको अवस्थामा पुनः संक्रमणको समस्या देखिनु थप चुनौती त हो नै ।

तर, पुनः संक्रमितहरु स्वयंमा समेत जोखिम कम हुने भएकाले उनीहरुबाट अरुमा संक्रमणको खतरा पनि कम हुने भएकाले डराउनु नपर्ने सुझाव पनि विज्ञहरुले दिएका छन् ।इमेज

तपाईको प्रतिक्रिया