शुक्रबार, चैत्र १०, २०७९
Friday, March 24, 2023

गौरादह, २४ वैशाख । किराती समुदायले प्रत्येक वर्ष मनाउदै आएको उभौली पर्व यस वर्ष स्थगित गरेका छन।कोरोना भाइरस संक्रमणको जोखिमका कारण किरात जातिले हर्ष उल्लासका साथ उभौली पूजामा गरिने साकेला नाच समेत स्थगित गरेको हो । भोली वैशाख २५ गते बाट उभौली चाड सुरु हुने भएता पनि यो पटक सार्वजनिक स्थलमा गई पूजाआजा र नाचगान प्रदर्शन नगर्ने भएका हुन् ।

कोभिड–१९ का कारण यो वर्ष किरात समुदायले घर–घरमा आ-आफ्नो साकेला थानमा भेला भई सामाजिक दुरी कायम गर्दै भूमि पुजा गरेर उभौली मनाउन संस्थागत निर्णय गरिएको किरात राई यायोक्खा गौरादहका अध्यक्ष शिवराज राईले जानकारी दिए ।

उभौलीको अवसरमा प्रत्येक वर्ष गौरादह-१ को टिकघारीमा पुर्खाहरुको सम्झनामा साकेला नाच, प्रकृति पुजा गरि करिब एक महिना सम्म सबैजना सार्वजनिक स्थलमा भेला भई मनाइने गरेको बताएका छन् । साकेला नाचमा किराती समुदायको उपस्थितमा सबै गोलाकार भएर पितृको संझना गर्दै साकेला नाच्ने परम्परा रहेको राइले बताए । किरात राईहरु यो बेलामा भेटघाट, जीवनशैली, पौराणिक कथा र सामाजिक सम्बन्धका बारेमा सिलीमार्फत एक महिना ढोल झ्याम्टाको तालमा नाचगान गर्ने भएतापनि यो वर्ष जारी लकडाउन र कोरोनाको जोखिमका कारण सार्वजनिक स्थलमा उभौली पुजा र नाच प्रदर्शन नगरिने जनाएका छन् ।

सो स्थानमा गौरीगंज, सीतापुरी, दमक, बैगुन्धुरा, लखनपुर, सिवसतासी, इलामको चुलाचुली, माइपश्चिम लगायत विभिन्न ठाउँबाट साकेला नाच का लागि युवायुवतीका साथै सबै उमेर समूहका व्यक्तिहरु सहभागी हुने गरेको किरात राई यायोक्खा गौरादह अध्यक्ष शिवराज राईले जानकारी दिए ।

किरात धर्म अनुसार बालीनाली लगाउने समय सुरु भएको प्रकृतिक संकेत पाएपछि आफुले लगाएको बाली राम्ररी सप्रियोस, प्राकृतिक बिपत्ति ननिम्तिओस भनि भूमीको पुजा गर्दै साकेला उभौली मनाईने गरिएको अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया