Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको निर्माण भने नरोकीने

अनलाइनबिचार सम्बाददाता
गौरीगंज, २१ वैशाख २०७७ । गौरीगंज गाउँपालिकामा चालू आर्थिक बर्षमा संचालन भएका आयोजनाहरु रोकिदा पुँजीगत तर्फको बजेट खर्च प्रभावित हुने भएको छ । गौरीगंज गाउँपालिका भित्र आर्थिक बर्ष ०७६।०७७ मा सम्पन्न गरिने १० करोड भन्दा बढीका योजनाहरु लकडाउनका कारण प्रभावित बनेका छन्।

राष्ट्रिय गौरवको आयोजना अन्तरगत निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक भने नरोकीने भएको छ।

कोरोना भाईरस संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले लगाईएको लकडाउनका कारण योजनाहरु सञ्चालनमा असर परेको होे। निर्माणाधिन अवस्थामा रहेका योजनाहरू ठेक्का लिएर निर्माण कार्य अघि बढाएका ठेक्कादार कम्पनीहरू समेत काम रोकिदा मारमा परेका छन्।

आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहेको र सम्पन्न गर्नु पर्ने काम निकै रहेकाले समयमा योजनाहरू सम्पन्न हुने नहुनेमा नागरिकहरुले चासो ब्यक्त गरेका छन्।

चैत ११ गते सरकारले लकडाउन गरेपछि गाउँपालिका भित्र संचालनमा रहेका ५ लाख बढीका ४७ वटा योजनाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ ।कोरोना भाईरसको संक्रमणका कारण सरकारले लगाएको लकडाउनले यस गाउँपालिकाको करिब ४७ वटा ५ लाख माथिका आयोजनाहरू चैत्र ११ गतेदेखि रोकिएका छन् ।

बिकास निर्माणमा ४७ वटा आयोजनाहरूको जम्मा ९ करोड ६८ लाख ३६ हजार ५ सय ९८ रूपैयाँ बराबरको बजेट रहेको छ ।ठेक्कादार कम्पनीले सम्झौता गरि निर्माणाधिन योजनाहरू मध्ये र्पुल, कल्भर्ट, ढल, नदी नियन्त्रण, भवन, बजारका टहरा र सडक कालोपत्रे रहेका छन ।प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक विकास निर्माण, निर्माण सामग्री आपूर्ति तथा सहजिकरण बैठकबाट महत्वपूर्ण निर्माणाधिन विकास आयोजनाहरूलाई सञ्चालनका गर्न गराउन स्थानीय सरकारलाई अख्तियारी दिएपछि गाउँपालिकाले रोकिएका आयोजनाहरू सञ्चालनमा ल्याएको हो ।

ठेकेदार कम्पनीलाई आवश्यक पर्ने ढुंगा,गिट्टी, वालुवा लगायतका निर्माण सामग्रीहरू सञ्चयको अवस्था र के कति मात्रामा थप आवश्यक पर्छ, सोको सूची तयार गरि अपुग हुने सामग्रीको लागि मात्र ठेक्का व्यवस्थापन भएको हकमा निश्चित सर्त र तोकिएका दिनहरूमा मात्र स्थानिय प्रशासनको समन्वयमा स्थानिय तहले निर्देशन दिन सक्ने प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निर्णय गरेको छ।

लकडाउनका कारण रोकिएका योजनाहरू सञ्चालन गर्न गाउँपालिकाले निर्माण प्रक्रियालाई केही नियम बनाएर खुकुलो बनाई चालु आवको २०७६र०७७ का योजनाहरु सञ्चालन गर्ने जनाईएको छ ।बिकाश निर्माणका काममा नियमित गर्नुपर्ने कामका लागि ठेकेदार कम्पनीले स्थानिय तहमा रहेका कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्ने ,कामदारलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु माक्स, पन्जा, साबुन पानी, सेनीटाइजरको व्यवस्था गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जनाएका छन् ।

आयोजनामा प्रयोग हुने कामदारले सामाजिक दुरी कायम गरेर मात्र गाउँपालिकामा संचालन हुने सबै आयोजना स्थानीय प्रशासनको समन्वयमा मात्र संचालन हुने पनि निर्णय भएको छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्न सक्ने आधार भए आयोजना संचालनमा रोक लगाउने पनि बताइएको छ ।

पूल, कल्भर्ट समेतका योजना संचालन गर्दा आवश्यक पर्ने रड, सिमेन्ट ,जस्तापाता, इँटा लगायतका निर्माण सामग्री बिक्री गर्ने पसल पनि खोल्ने निर्णय भएको छ । नदीजन्य पदार्थ, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको ढुवानी अनुमतीका लागि निवेदन सहितको विवरण सम्बन्धित सवारी धनीले गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने छ ।

सवारी साधनको दर्ता किताब, सवारी चालकको चालक अनुमती पत्र आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास उपलब्ध गराउने बताइएको छ । नदीजन्य पदार्थ झिक्न जाने वा निर्माण सामग्री ढुवानी गर्ने गरी अनुमती प्राप्त सवारी साधनले बेलुकी ६ बजेदेखी विहान ७ बजे सम्म मात्र ढुवानी गर्न पाउने निर्णय भएको छ ।

निर्माण वा ढुवानी व्यवसायीले निर्माण सामग्री भण्डारण गर्न पाउने भएपछी कुनै पनि संरचना निर्माणमा ढिलाई नहुने व्यवसायी समेतले बताएका छन् ।गाउँपालिकाको विभिन्न योजनाहरू सञ्चालन गर्न सम्झौता गरि ठेक्का लिएका कम्पनीहरू निरौला ब्रदर्स निर्माण सेवा गौरादह, मेची कन्ट्रक्सन प्रालि विर्तामोड, समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि अनामनगर, कन्काई बबई निर्माण सेवा लखनपुर, मधुसुदन निर्माण सेवा दमक, मनास्लु कन्ट्रक्सन प्रालि इटहरी रहेका छन् ।

ठेक्का लिएका निर्माण व्यवसायीहरूले चालू आर्थिक वर्षको निर्माणाधिन योजनाहरू लकडाउनका कारण निर्माण कार्य रोकिएको हुँदा लाखौ रूपैयाँ नोक्सान भएको बताए । उनीहरूले निर्माणाधिन भएका योजनाहरूमा निर्माण भएको संरचनाको आधारमा मुल्यांकन गरि गाउँपालिकाले बजेट निकास गरे केही राहत मिल्ने बताए ।

लकडाउन भए पनि गाउँपालिकाले निर्माण व्यवसायीहरूलाई सदासयता देखाए समयमै काम सम्पन्न गर्न सकिने मधुसुधन निर्माण सेवा दमकका प्रोप्राईटर केदार थापाले बताए ।

तपाईको प्रतिक्रिया