Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

वासिङ्टन डिसी, १७ वैशाख । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ नेपालीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको हो ।

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

उनी भन्छन्, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ ।”

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए ।

अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्‍याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा। सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ ९अप्रिल २५० सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् भने यसको सङ्क्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments