Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

एजेन्सी,१३ बैशाख २०७७ । चीनको एक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोना भाइरसबाट बचाएको छ । त्यस कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको जनाइएको छ ।

बेइजिङस्थित सिनोभ्याक बायोटेक कम्पनीले बाँदरमा गरिएको परीक्षण सफल भएको जनाएको हो । सिनोभ्याकका अनुसन्धानकर्ताहरूले दुई भिन्न किसिमका खोप आठवटा बाँदरमा प्रयोग गरेका थिए । त्यसको तीन हप्तापछि ती बाँदरको फोक्सोमा कोरोना भाइरस (कोभिड– १९) राखिएको थियो ।

बाँदरहरूलाई भाइरसबाट संक्रमण गराइएको सात दिनपछि तिनीहरूलाई फेरि संक्रमणको अवस्थाबारे जाँच गरिएको थियो । तर, उनीहरूमा भाइरसको संक्रमण नदेखिएको बताइएको छ । अनुसन्धानकर्ताहरूले बनाएका दुई खोपमध्ये एउटा बढी डोजको थियो भने अर्काे कम डोजको थियो ।

बढी डोजको खोप लगाइएका बाँदरहरूमा भाइरसको कत्ति पनि संक्रमण एवं असर देखिएन अर्थात् भाइरस निष्क्रिय भइसकेको थियो । कम डोज दिइएका चार बाँदरमा भने केही समस्या र संक्रमण फेला परेको थियो । तर, डोज बढाएपछि ती बाँदर पनि पूर्ण रूपमा भाइरसमुक्त भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

दुवै किसिमबाट बाँदरहरूमा भाइरस नियन्त्रण ल्याउन सफल भएसँगै १६ अप्रिलमै कम्पनी र अनुसन्धानकर्ताहरूले मानिसमा पनि खोप परीक्षण सुरु गरिसकेका छन् । र, परीक्षणको नतिजा भने आइसकेको छैन, आउने क्रममा छ ।

सिनोभ्याकका वरिष्ठ निर्देशक मेंग वेनिङले मानिसमा पनि यो खोप पूर्ण रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । प्रकाशित अध्ययनका लेखक एवं अनुसन्धानकर्ता फ्लोरियन क्रेमरले ‘खोपले काम गर्ने र निकै कम आर्थिक स्थिति भएका देशहरूले समेत यो खोप बनाउन सक्ने’ बताएका छन् ।

तर, अमेरिकी पिट्सबर्ग विश्वविद्यालयका प्रोफेसर डगलस रिडले भने सिनोभ्याकले निकै थोरै बाँदरमा मात्र यसको परीक्षण गरेको भन्दै परीक्षणको प्रक्रियामाथि समेत आशंका व्यक्त गरेका छन् । यद्यपि यो खोप इटाली, चीन, बेलायत र स्पेनका संक्रमितमा पनि परीक्षण गरिएको छ । अहिलेसम्म यी परीक्षणहरूको कुनै नतिजा निस्केको छैन ।

यस्तै ६ अन्य खोपहरू मानिसमा परीक्षण भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । करिब ७७ खोपहरू अझै विकासका क्रममा छन् । सिनोभ्याकले बनाएको खोप कोरोना भाइरसलाई संक्रमण निष्क्रिय पारेर बनाइएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि बिहीबारबाट मानिसमा खोप परीक्षण सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया