Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वैशाख १२, २०७७

लन्‍डन — बेलायतमा कोभिड-१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड(१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो । युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्। बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।

‘वाटर एड यूके’ मा सिनियर वास म्यानेजरका रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा.ओमप्रसाद गौतम ‘कोभिड (१९’ को पहिलो केस देखिएको करिब ४ महिनाभित्र ‘भ्याक्सिन’ परीक्षणको तहसम्म आइपुग्नुलाई ‘क्विक टर्न अराउण्ड’ का रुपमा लिन सकिने बताउँछन्। तर उनले यो ‘भ्याक्सिन’ सफल हुने नहुने अहिले भन्न नसकिने बताए।

‘भ्याक्सिनको परीक्षणमा ‘ट्रायल एण्ड इरर’ चलिरहन्छ। कहिले, कुन चरणमा पुगेर सफल हुन्छ थाहा हुँदैन’, उनले भने। गौतमका अनुसार, कुनै पनि रोगको ‘भ्याक्सिन’ तयार हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ।

तर, अक्सफोर्ड विश्वविद्यालयले आउंदो सेप्टेम्बरसम्म ‘कोभिड(१९’ विरुद्धको भ्याक्सिन तयार गरिसक्ने बताउनु आफैमा चुनौतीपूर्ण देख्छन् उनी।

परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ। परीक्षणमा सहभागी हुनेले जनही १९० देखि ६२५ पाउण्डसम्म पाउनेछन्। तर, आवेदक स्वास्थ्य हुनुपर्नेछ। अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५५१ जनालाई भने कन्ट्रोल भ्याक्सिन दिइनेछ।

स्काइ न्‍युजका अनुसार, खोप परीक्षणमा सहभागी हुन कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएका, कोभिड(१९ को अति जोखिम अवस्थामा रहेका व्यक्तिसंगै बसेका, गर्भवती भएका र हुने चाहना राखेका एवं नवजात शिशुलाई दूध खुवाइरहेकाले पाउने छैनन्।

खोप विकासका लागि बेलायत सरकारले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको टिमलाई २०(२० गरी ४० मिलियन पाउण्ड कोष उपलब्ध गराएको छ।

इम्पेरियल कलेज लन्डनले जुनदेखि मानव परीक्षण सुरु गर्ने बताइएको छ। स्वास्थ्यमन्त्री म्याट हयानककले दुवै टिमले गरेका प्रयासको प्रशंसा गरेका छन्। यूके चिफ मेडिकल एड्भाइजर प्रोफेसर क्रिस ह्वीटीलाई कोरोना भाइरसविरुद्धको खोप वा औषधि अर्को वर्षसम्म उपलब्ध हुने विश्वास छ।

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ९१ पुगेको छ। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बेलायतमा अहिलेसम्म १ लाख ३९ हजार २ सय ४६ जनामा संक्रमण भेटिएको उल्लेख गरेको छ।

त्यस्तै, कोरोना भाइरसका कारण बेलायतमा मृत्‍यु हुने नेपालीको संख्या बिहीबारसम्म २२ पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया