Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

०३ वैशाख २०७७
कोरोना भाइरस(कोभिड-१९)को संक्रमण कम्तीमा २० देशमा रहेका नेपालीमा देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब २ सय रहेको उल्लेख छ। कतिपय देशबाट तथ्यांक नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, वेलायत र खाडी देशमा रहेका नेपालीहरू कोरोनाभाइरसका कारण बढी प्रभावित भएको देखिन्छ।

वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाहेकाले वास्तविक विवरण पाउन नसकिएको बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाली समुदाय र स्थानीय सरकारसँग सम्पर्कमा रहन र सुरक्षाका उपाय अपनाउन विदेशस्थित नियोगहरूलाई निर्देशन दिइएको बताएका छन्। मङ्गलवार साँझसम्म नियोगहरूले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणले हालसम्म सबैभन्दा धेरै सङ्क्रमित नेपालीहरू अमेरिकामा रहेको देखाएको छ।

स्थानीय कानूनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली सङ्क्रमित छन् यथार्थ जानकारी नभएको भन्दै विवरणमा करिब ६० जनामा सङ्क्रमण पाइएको उल्लेख छ।

त्यसमध्ये ४२ जना हाल न्यूयोर्कका भएको बताइएको छ। वासिङ्टन डिसीस्थित दूतावासले एकजना नेपाली मूलका अमेरिकी र एक नेपाली नागरिक सहित छ जनाको मृत्यु भएको र त्यसमध्य ३ जनाको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

यसअघि गैरआवसीय नेपाली सङ्घले अमेरिकामा ५०० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएका हुनसक्ने आशङ्का व्यक्त गरेको थियो। वेलायतमा हाल ३५ जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ३० जना क्वारन्टाइनमा रहेको बताइएको छ ।

त्यहाँ हालसम्म कोरोनाभाइरसको कारण छ जना नेपालीले ज्यान गुमाएको र १० जना आराम गरिरहेका छन्। लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज अरनले कोरोनाभाइरसपछि उत्पन्न सङ्कटका कारण खाना र डेरा खर्च नभएको कारणसहित २३० जनाले सम्पर्क गरेको जानकारी दिए।

लाखौँ नेपाली कामदार कार्यरत रहेका खाडी तथा मध्यपूर्वका देशमा पनि नेपालीहरूमा सङ्क्रमण देखिएको छ। यूएईमा एकको मृत्यु भएको भनिएपनि त्यसको पुष्टि मन्त्रालयले गरेको छैन। झन्डै ३५ हजार नेपाली रहेका बहरेनमा २२ जनामा सङ्क्रमण देखिएको छ।

४ लाख नेपाली श्रमिक रहेको कतारमा केही सङ्क्रमित नेपालीहरू दूतावासको सम्पर्कमा रहेको भनिएको छ। उक्त विवरणमा सङ्क्रमित वा क्वारेन्टाइनमा रहेकाहरूको विवरण उपलब्ध नगराउने नीति कतार सरकारको रहेकोे छ।

यूएईमा ११, कुवेतमा १२, साउदी अरेबीयामा ४, जापानमा २, अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, ,स्पेनमा कम्तीमा आठ, स्वीट्जरल्यण्डमा पाँच, हङ्कङमा १ जनामा सङ्क्रमण र ७ जना क्वारन्टाइनमा रहेको, माल्दीभ्समा २ क्वारेन्टाइनमा, बेल्जीयममा १ जना आराम गरिरहेको र मलेशियामा १, इजरायल र न्यूजील्याण्डमा पनि एक(एक जनामा सङ्क्रमण देखिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। क्यानडामा रहेका केही नेपालीमा पनि सङ्क्रमण देखिएको जानकारी भएपनि त्यो पुष्टि गर्न नसकिएको विवरणमा उल्लेख छ।
बीबीसी

तपाईको प्रतिक्रिया