Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी

काठमाडौं, २ वैशाख । भारतमा ३ मेसम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले २० अप्रिलसम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन् ।

२० अप्रिलपछि सशर्त केही छुट दिइनेः

मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए अप्रिल २० पछि केही छुट दिइने पनि बताएका छन् ।

तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो ।

भारतमा गत २५ मार्चदेखि लकडाउन लागू गरिएको थियो । लकडाउनको आज अन्तिम दिन थियो । मोदीले भने, ‘जब यहाँ मात्र ५५० जना संक्रमित थिए, त्यतिबेला नै २१ दिनका लागि सम्पूर्ण लकडाउनको ठूलो कदम उठायौँ । भारतले समस्यालाई पर्खिएन बरु समस्या देखिने बित्तिकै चाँडो फैसला गरेर त्यसलाई त्यही समय रोक्ने प्रयास ग¥यो । ठूला–ठूला सामर्थ्यवान देशमा कोरोनाको आँकडाको तुलनामा भारतमा धेरै सम्हालिएको स्थिति छ ।’

मोदीले सामाजिक दुरी र लकडाउनले देशलाई ठूलो लाभ हासिल भइरहेको जिकिर गरे । ‘आर्थिक दृष्टिकोणबाट मात्र हेर्दा हामीले ठूलो मूल्य चुकाउनु परेको देखिन्छ तर भारतवासीको जीवनको अगाडि यसको कुनै तुलना हुन सक्दैन,’ उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया