Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, २० चैत्र । कृषिलाई मुख्य पेसा मानेर मेहनतका साथ खेती गरिरहेका किसानहरुलाई युरिया मलको अभाव भएको छ। लकडाउनका कारण सवारीसाधन तथा पसलहरु बन्द हुदा रासायनिक मल युरिया आयात हुन नसकेपछि युरियाको अभाव खड्कीएको हो।

झापाका दक्षिणी क्षेत्रका अधिकांश किसानहरुले भदै धान लगाएका छन्। धान रोप्ने समयमा डिएपि मल पाएपनि धान गाँजिएपछि लगाउने युरिया मल पाएका छैनन्। किसानहरुले धानमा लगाउन युरिया नपाउँदा निरास भएका छन्। दक्षिणी क्षेत्रका बजारका पसल तथा सहकारी संस्थाहरुले युरिया मल आयात गर्न सकिरहेका छैनन्। किसानहरु युरिया मलको खोजिमा भौतारिएका छन्।

लकडाउनका कारण आवतजावत समेत बन्द भएकाले युरियाको खोजिमा किसानहरु रातारात भारतीय सिमानाका छेउछाउका चौकतिर धाउन बाध्य भएका छन्। भारतीय बजारबाट व्यापारीहरुले रासायनिक मल आयात गरि सिमानाका छेउछाउका चौकमा राखेर बिक्री गर्ने गरेको थिए। त्यस ठाउमा पनि मल पाउन सकेका छैनन्। अधिकांश किसानहरुले १ बिघा देखि ३ बिघा जग्गा सम्म भदै धान लगाएका छन्। आफ्नो जग्गा नहुनेले पनि असार साउनको समयमा धान रोप्न केही खर्च निकाल्ने आशामा अरुको जग्गा अधियामा धान रोपेका छन्। छिटो चाँडो र सहज रुपमा खेति गर्न किसानहरुले खेत जोत्न आधुनिक उपकरण ट्याक्टर र धान माड्न थ्रेसर र धान रोप्ने रोपाहार लगाउदा लागत बढी लागेको हुन्छ।

महङ्गो लागतमा धान उत्पादन गरेिपनि बिक्री गर्ने समयमा उचित मूल्य पाउदैन। धान फलाइसकेपछि उचित मूल्य नपाउँदा किसानहरुले लगानी अनुसारको प्रतिफल पाउदैनन्। आफ्नो जग्गा भएका किसानहरुलाई आफैले खेति गर्दा पनि लगानी गरे अनुसार फाइदा नभएको बताईरहेको समयमा जग्गा अधियामा खेति गर्ने किसानहरुलाई फाइदा नहुने देखिन्छ। त्यसमापनि रासायनिक मल लगाइ रहेको खेतमा अन्य मल लगाएमा धान फल्दैन। रासायनिक मल नै चाहिन्छ।

सरकारी तवरबाट किसानहरुलाई उपलब्ध गराइने मल समयमा नपाउँदा किसानहरुले हैरानी व्योहर्नु परिरहेको छ। गौरादह नगरपालिका वडा नं२ का किसान टिकालाल राजवंशीले यस पटक लगभग ३ बिगा जग्गामा भदै धान लगाएका छन्। उनी अहिले युरिया मलको खोजिमा चारैतिर घुमिरहेका छन्। युरिया काँहिपनि पाएका छैनन्। धान रोप्ने समयमा डिएपि पाएपनि अहिले युरिया लगाउने समयमा मल पाइन्दैन धान पहेलो भइसकेको उनले बताए। गौरादह नगरपालिका वडा नं.७ का चुर्ण माक्राले आफ्नो जग्गा नभएपनि अरुको १ बिघा जग्गा अधियामा भदै धान रोपेका छन्। उनी पनि युरिया मलको खोजिमा घुमिरहेका छन्। युरिया मल नपाएपछि आफ्नो मेहनत र परिश्रम खेरजाने आशंका बढेको उनले बताए। प्रत्येक बर्ष खेती गर्ने समयमा रासायनिक मल डिएपी र युरियाको समस्या झेल्दै आएका किसानहरुलाई यस पटक पनि युरियाको हाहाकार भएको छ। कृषि प्रधान देश भनिएपनि किसानहरुले राहत पाउन सकेका छैनन्।

तपाईको प्रतिक्रिया