Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

सिङ्गापुर, साउन १९ । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दवाव कायम राख्नुपर्ने भनेपछि उत्तर कोरियाको उक्त भनाई आएको हो ।

सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्धलाई छल्न खोजेको आरोपबारे विवादास्पद भनाइ आएपछि प्योङयाङको यो भनाइ आएको हो ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निशस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिवद्धता जनाएका थिए ।

अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निशस्त्रीकरणको मागप्रति उत्तर कोरिया एक्कासी सकारात्मक बनेको थियो ।

सम्झौताप्रति अमेरिकी अधिकारीहरूले सार्वजनिक वृत्तमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचारहरू प्रकट गर्न थालिसकेका थिए । तर केही राष्ट्रसंघका सदस्यहरूले नाकाबन्धीलाई लचिलो बनाएको र यसबाट उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आवश्यक दवाव नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियन)को क्षेत्रीय मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो ले निशस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताएका हुन् ।

विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्ना नेताहरूको सोचबाट टाढा रहेका बिषयलाई अमेरिकी पक्षबाट शङ्का गर्नु र आग्रहपूर्ण व्यवहारहरू आउनु दुभाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ ।

जुनमा भएको सम्झौतापछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपायहरू’ अवलम्वन गरेको उनको भनाइ थियो ।

तर अमेरिकाले यसप्रति सकारात्मक प्रतिक्रिया दिनुको सट्टा उत्तर कोरियाविरुद्धको प्रतिवन्ध कडा पार्नुपर्ने आवाजलाई वुलन्द पार्न थालेको छ ।

‘जवसम्म अमेरिकाले हाम्रा चासोका बिषयलाई हटाउन इच्छा देखाउन्न, हामी एकपक्षीय तरीकाले अघि बढ्नुको अर्थ छैन,’ रीले भने।

यसपहिले सोही मञ्चमा बोल्नुहुँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले आफूहरूले उत्तर कोरियाविरुद्धको कुटनीतिक तथा आर्थिक दवावलाई कायम राख्नु महत्वपूर्ण भएको बताएका थिए । यद्यपि पोम्पेओले उत्तर कोरियाली निशस्त्रीकरणका सम्बन्धमा हुने प्रगतिमा आफू आशावादी रहेको पनि बताए ।

शनिबारको बैठकमा अमेरिकी प्रतिनिधिमण्डलले नेता किमलाई ट्रम्पले पठाएको चिठी विदेशमन्त्री रीलाई हस्तान्तरण गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सम्मेलनका समय अमेरिकी विदेशमन्त्री पोम्पेओले रुसप्रति सङ्केत गर्दै प्रतिवन्धलाई तोड्दै उत्तर कोरियाली श्रमिकलाई मस्कोले काममा लगाएको बताएका थिए । पोम्पेओको अन्य मुलुकका विदेशमन्त्रीसँगको भेटमा जहाजबाट ओसारिने तेललाई रोक्नुपर्ने बताए । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments