Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २९ फागुन । खुल्ला सिमानाका कारण झापाको दक्षिणी सिमानाबाट नेपाल भारत मानिसहरुको आवत जावत भइरहने भएकाले कोरोना भित्रीन सक्ने सम्भावनालाई ध्यानमा राखि नियन्त्रण गर्न गौरादह नगर स्वास्थ्य शाखाले आवश्यक प्रक्रिया सुरु गरेको छ । कोरोना भाइरस भित्रन नदिन सबैमा सचेत गराउन र नियन्त्रणकालागि गौरादह नगर स्वास्थ्य शाखाले प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

नगर स्वास्थ्य शाखाले स्वास्थ्य सेवाका कर्मचारीलाई दिइने तालिम, सेमिनार र गोष्ठीलाई स्थगन गरि कोरोना नियन्त्रणमा नगर स्वास्थ्य शाखाको ध्यान केन्द्रीत भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले बताए । नगर स्वास्थ्य शाखा गौरादहले नगरपालिका भित्रका सबै वडाका गाउँ-गाउँमा माइकिङ गरि सबैलाई सचेत रहन आग्रह गरेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा त्यसको प्रभाव झापामा पनि पर्न सक्ने भएकाले नियन्त्रणका लागि दक्षिणी क्षेत्रका संघ संस्थाहरुले समेत प्रचारप्रसार गरिरहेको समयमा नगर स्वास्थ्य शाखाले पहिलो चरणमा प्रचारप्रसार गर्न सुरु गरेकोछ ।

नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नगर भित्रका केही वडाहरुमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएको र अन्य वडाहरुमा सचेतना मुलक कार्यक्रम क्रमशः संचालन गरिदै जाने जानकारी गराए । माईकिङ गर्दै नगर स्वास्थ्य शाखाले कोरोना भाइरस के हो?  सर्न सक्ने संभावना, यसका असर, भाइरसका लक्षणहरु, सम्भावित जोखिमका बारेमा जानकारी गराउदै खोक्दा वा हाछिउँ गर्दा रुमालले मुख छोप्न, भिडभाडमा नजान र सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

आफू सचेत भएमा यसबाट वच्न सकिने जानकारी गराउदै ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गर्नपनि सबैमा अनुरोध गरेको छ । नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले केहिदिन भित्रैमा सबै वडामा पर्चा पम्प्लेट टाँस्ने तथा वितरण गरिनुका साथै नगरपालिका भित्र माक्स वितरण गरिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया