Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरीगंज, २६ फागुन । घर आँगनमै पुगेर धान कुटाउने मेसिन आएपछि धान कुटाएर चामल बनाउन सहज भएको छ । झापाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आफ्नो आगनमा धान कुटाएर चामल बनाउन पाइन्छ भन्ने विस्वास थिएन तर स्थानीय बासिन्दाको आगनमा मिल लगेर चामल बनाइदिन सफल भएका छन । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका मोहम्मद ईस्माइल । उनले ट्याक्टरमा मिल जडान गरेर, धान सुकाएर कुटाउन तयार पारेका घरमा मिल लगेर धान कुटाइदिन्छन ।

यसबाट स्थानीयबासिन्दालाई धान कुटाउन मिलसम्म पुग्नु पर्ने बाध्यता हटेको छ । केही बर्ष पहिले सम्म धान कुटाउन नाम्लो लगाएर टाउकामा धान बोकेर मिल सम्म पुग्नु पर्दथ्यो । कसैले बयल गाडाको प्रयोग गर्दथे भने, पछिल्लो समयमा मानिसहरुले साईकलको प्रयोग गरेर मिलसम्म धाउने गर्दथे प्रविधिको विकास सँगै काममा सहज हुने किसिमका उपकरणहरु क्रमश भित्रीदै जाँदा समयको बचत हुनुको साथै कामगर्न झन्झट हटेको छ ।

घुम्ती मिल ल्याए सँगै मोहम्मद स्माईललाई भ्याई नभ्याई भएको छ । मिल चलाउँदा यति ब्यस्त होइएला भन्ने उनले सोचेका थिएनन्, मिल संचालनमा आएपछि १५ दिन त सोचे भन्दा बढी व्यस्त भएको उनले बताए । उनले भने दिनमा सय भन्दा बढी फोन आउँछ । विहान ७ बजेदेखि काम थालेर राती १२ बजेसम्म धान कुटाउँन ब्यस्त हुन्छु । विराटनगरबाट धान कुट्ने घुम्ती मिल ल्याए पछि मोहम्मद इस्माईललाई यतिको ब्यस्त बनाएको हो । चामल एकतिर भुस अर्कोतिर निस्कने धान कुटने व्यवस्थित मेसिनलाई ट्याक्टरको प्रयोग गरेर मानिसका घर घरमा लगेर धान कुटाउन सकिने सजिलो उपाय भएकोले गाउँवासीहरूको माग अत्यधिक भएको प्रोपाइटर मोहम्मद ईस्माईलले बताए ।

डिजलबाट चल्ने २ लाख रूपैयाँमा खरिद गरेर ल्याएको उक्त मेसिनले १ घण्टामा ३० मन सम्म धान कुटाउन सकिने उनले बताए । उनले भने अहिले यसको माग राम्रो छ । सबैले रुचाएका छन, अहिले हामीले दिनको १ सय २० मनसम्म धान कुटाईरहेका छौ ।’ एक मन धान कुटाउँदा ७० रूपैयाँ लिने गरेका उनीसहित ३ जनाले काम गरिरहेका छन् ।

गाउँ गाउँमा गई धान कुटाउन सकिने भएकोले मानिसलाई मिलमा धान लगेर हप्तौदिनसम्म पालो पर्खेर धान कुटाउने झन्झटबाट मुक्त र समयको वचत पनि हुने हुँदा सबैको रोजाई यहि ‘मोवाईल धान कुट्ने मिल’ भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने कृष्णहरी राजवंशीले २० मन धान यहि मोवाईल मिलबाट कुटाउन पाउँदा खुशी व्यक्त गरे । उनले भने ‘विगतको वर्षसम्म धान कुटाउन टाढाको धान कुटाउने मिलमा लानु पर्दथ्यो, वत्ती नभएर हप्तौ दिनसम्म पालो कुर्नुपर्दथ्यो अब त्यो झन्झटिलो नहुने, घरमै कुटाउन मिल्ने र समयको पनि बचत हुने हुँदा यो धेरैको लागि उपयोगी भएको छ ।’

गौरीगंज गाउँपालिका वार्ड नं. ६ कि ममता बुढाथोकीलाई पनि यो मिलले धेरै सजिलो बनाईदिएको प्रतिक्रिया दिईन् । उनले भनिन् ‘ मैले घरकै आगनमा ४० मन धान कुटाएँ । चामल पनि सग्लो निस्कियो । धान बोकेर मिलसम्म लैजानु परेन ।’ आफ्नो समय अनुकुल पारेर धान घरमै कुटाउन पाउँदा हाम्रो रोजाईमा अहिले यहि ‘मोवाईल धान कुटने मिल’ भएको बताईन् ।

तपाईको प्रतिक्रिया