Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

फाल्गुन १९, २०७६

दिल्ली — चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९)को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो। युरोपेली मुलुकहरुमध्ये इटालीमा कोरोना सक्रंमण अत्यधिक देखिएको छ। त्यहाँ हालसम्म १७०० भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ भने ४१ जनाको मृत्यु भएको छ।

त्यसैगरी मन्त्रालयले दक्षिण भारतीय राज्य तेलंगनामा पनि अर्को एकजनामा कोभिड–१९ भएको फेला परेको छ। मन्त्रालयका अनुसार ती व्यक्ति पछिल्लो समय दुबईबाट स्वदेश फर्केका थिए। पछिल्लो दुईवटा ‘केस’ समेत गर्दा भारतमा हालसम्म पाँजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि केरलाका तीनजनामा संक्रमण देखिएको थियो। र, क्वारान्टाइनमा राखिएको उनीहरु उपचारपछि संक्रमणबाट मुक्त भइसकेका छन्।

भारत सरकारले काठमाडौंसँगै इण्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत आउने उडानका लागि बृहत् स्वास्थ्य परीक्षण गरिने निर्णय गरेको थियो। यो निर्णय सँगै अब काठमाडौं हुँदै हवाईमार्गबाट भारतका विभिन्न गन्तव्यमा आउने यात्रुहरुको विमानस्थलमै कोरोना भाइरसको संक्रमण छरछैन भन्ने परीक्षण हुँदै आएको छ। हाल काठमाडौंबाट विभिन्न एअरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंग्लोर र बनारसलगायतका सहरमा सिधा उडान गर्दै आएका छन्।

भारतले एक महिनादेखि नै नेपालसँगका जोडिएका प्रमुख नाकामा थर्मल स्क्यानर राखेर सिमा ओहोरदोहोर गर्नेहरुको स्क्रिनिङ सुरु गरेको थियो। चीनसँग सीमा जोडिएको हुँदा नेपालबाट आउने यात्रुहरुको समेत स्वास्थ्य परीक्षण हुनुपर्ने माग भारत सरकारअन्तर्गतका विभिन्न सरोकारवाला निकायहरुले केही दिनअघि देखि नै गर्दै आएका थिए। साथै पछिल्लो समय दक्षिण कोरियालगायतका मुलुकमा पनि भाइरसको संक्रमण देखिएको पृष्ठभूमिमा भारत सरकारले कोराना परीक्षणलाई थप सघन बनाएको छ।

त्यसअघि भारत सरकारले पूर्वसावधानीस्वरुप दुई साता अघि नै विशेष निर्देशन जारी गर्दै चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र सिंगापुरबाट आउने यात्रुहरुको पूर्ण स्वास्थ्य परीक्षण सुरु गरेको थियो। त्यसअनुसार भारतका विभिन्न २१ वटा विमानस्थलमा त्यस्तो परीक्षण हुँदै आएको छ। कोरोनाको संक्रमणबाट अमेरिकामा समेत एक जनाको मृत्यु भइसकेको छ।

गत पुसको दोस्रो साता वुहानबाट फैलिएको यो भाइरसको संक्रमण विश्वभरका ८९ हजारभन्दा बढी पहिचान भइसकेको छ। चीनमा मात्र यो संक्रमणबाट २९१२ जनाको र अन्य सयभन्दा बढीको मृत्यु भइसकेको छ। त्यसैगरी इरान र कोरियामा पनि कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ। अमेरिकामा पनि कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।  त्यहाँ ८८ जनामा संक्रमणको पुष्टि भएको छ। नेपालमा भने हालसम्म एकजनामा मात्र संक्रमण देखिएको थियो। र, ती संक्रमित व्यक्ति पनि उपचार पछि निको भइसकेका छन्। कान्तिपुर

तपाईको प्रतिक्रिया