Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १८ फागुन । नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कोरोना (कोभिड–१९) महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जानकारी दिइएको हो ।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको मन्त्रालयले जनाएको छ । विभिन्न निकायसँगको समन्वयमा चीनको वुहान प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन क्वारेन्टाइनमा राखिएकामा यही फागुन १७ गते अन्तिम पटकको नमूना परीक्षण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति तथा तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाइएको मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको उनले बताए । उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको छ । यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताए ।रातोपाटी

तपाईको प्रतिक्रिया