Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरीगंज, १७ फागुन । गौरीगंज गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका धेरैअगाडि निर्माण भएका भवनहरु प्रयोगविहिन भएका छन् ।
नेपाल सरकारको वजेटबाट निर्माण भएका पुराना भवनहरु रेक्टो फिटिङ्ग गरेर प्रयोगमा ल्याउन सकिने भएपनि ती भवनहरुको पुननिर्माण नहुँदा प्रयोगमा आउन नसकेको हो ।

विद्यालयको हाताभित्र रहेका पुराना भवनहरुमा २०७२ सालमा भुकम्प आउनु अगाडि कक्षा सञ्चालन भएता पनि भुकम्पका कारण भवन चर्किएर जीर्ण बनेपछि प्राविधिकको सल्लाह अनुसार कक्षा सञ्चालन हुन सकेको छैन । भुकम्पबाट मक्किएका भवनहरु विद्यालय हाताभित्र रहँदा कुन समयमा भवन लड्ने हो र विद्यार्थीहरु चौरमा खेलिरहेको समयमा भवन लडेर घाइते बनाउने हो त्यसको कुनै लेखाजोखा छैन । त्यस्ता पुराना भवनहरुले विद्यालयको वातावरण
धमिल्याएको छ भने विद्यालयको सुन्दरतासमेत हराएको छ । विद्यालय भवनहरु इट्टा सिमेन्ट जडान गरी पक्की भवन बनाएपनि कक्षा सञ्चालन भईरहेका अधिकांश विद्यालयका कोठाहरुमा धमिराले माटो उठाएर भवनलाई जोखिमपुर्ण बनाएको छ ।गौरीगंज गाउँपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयका पुराना भवनहरु मक्किएर काम नलाग्ने भएका छन् ।

गौरीगंज गाउँपालिका भित्रको पुरानो र नाम चलेको विद्यालय गौरीगंज मावि हो । वि.सं. २००८ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई हुन्छ । विद्यालयमा १ हजार भन्दा बढी विद्याथीहरु अध्ययनरत छन् । गौरीगंज माविको हाताभित्र रहेको दुई तल्ले २४ कोठाको भवन २०७२ सालको भुकम्पपछि जीर्ण बनेको छ । वि.सं. २०३८ सालमा सम्पन्न भएको विद्यालय भवन भुकम्पपछि इन्जिनियरले ‘रेडस्टिकर’ टाँसी कक्षा सञ्चालन नगर्न जानकारी गराएपछि विद्यार्थी अन्य भवनमा स्थानान्तरण गरिएको छ । विद्यार्थीहरुलाई स्थानान्तरण गरिएपनि सोही भवनमा कार्यालयका साथै विज्ञान ल्याब र पुस्तकालय सञ्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द घिमिरेले जानकारी गराएँ ।

वि.सं. २०२९ सालमा स्थापना भएको खजुरगाछी माविमा दुई वटा भवनका चार वटा कोठा प्रयोग विहिन भएका छन् । २०३३ सालमा गोल्छा अर्गनाइजेसनले निर्माण गरेको भवन पनि भुकम्पपछि चर्किएर काम नलाग्ने भएको विद्यालयका प्रधानाध्यापक गेहेन्द्रविक्रम साह बताउँछन् । प्रअका अनुसार सो भवनलाई मर्मत या भत्काएर नयाँ भवन निर्माणका लागि गोल्छासंग आग्रह गरिएको जानकारी गराए । आर्दश मावि कोरोवारीमा ५ कोठाको एक भवन जीर्ण अवस्थामा रहेको छ ।

वि.सं. २०१७ सालमा स्थापना भएको सो विद्यालयमा इट्टा, सिमेन्ट जडान गरी बनाईएको भवन भुकम्पपछि चर्किएर काम नलाग्ने हुँदा भवन प्रयोगविहिन भएको छ । ६ सय ६० जना विद्यार्थीहरु अध्ययन गर्दै आएको सो विद्यालयमा रहेका पुराना भवन रेक्टो फिटिङ्ग गरेर प्रयोगमा ल्याउनको लागि गाउँपालिकामा अनुरोध गरिएको विद्यालयका प्रअ लक्ष्मण राजवंशी बताउँछन् । जनता वालविकास प्राविमा टिन छाना भएको ६ कोठाको एक भवन पनि जीर्ण बनेर प्रयोगविहिन भएको छ । २०२५ सालमा निर्माण भएको सो भवन प्रयोगमा ल्याउनका लागि मर्मत गर्ने आर्थिक स्रोत नहुँदा भवन प्रयोग विहिन भएको विद्यालयका प्रअ कुमार भण्डारी बताउँछन् ।

तपाईको प्रतिक्रिया