Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरीगंज, १७ फागुन । आदीवासी समुदायहरुको चार्डपर्वहरुमा बजाइने बाजा पछिल्लो समय संकटमा परेको छ । आदीवासी समुदायहरुको विशेष पर्वहरुमा परम्परा काल देखि बजाइने बाजा (माझी ढोल) युवा पुस्ताले अंगिकार नगर्दा बजाउने व्यक्तिको अभावमा संकटमा परेको हो । युवा अवस्था देखि बाजा बजाउदै आएका ६७ वर्षका बजरा माझी हालसम्म पनि सोहि बाजा बजाउदै आएका छन् ।

आदीवासी समुदायहरुमा विशेष किसिमका पर्वहरु नियमित नपर्ने र यहि कामबाट मात्र गुजारा नचल्ने भएका कारण युवा पुस्ताहरुमा स्थानतरण हुन सकेको छैन । तिन छोरा भएका बजरा माझीका जेठो छोरा बब्लु माझी बैदेसिक रोजगारीका शिलशिलामा साउदी अरबमा मजदुर गर्दैछन।माईलो छोरा रमेश माझी स्थानीय ईटाभट्टामा लेवर काम गर्द छन।कान्छो छोरा पनि बाजा बजाउने काममा सक्रिय छैनन् । कान्छो छोरा दिलिप माझी १५ वर्षका छन । उनी अहिले बाजा बजाउन सिक्ने काशिस गरे पनि रुचि नराखेको उनका बुबा बजरा बताउछन् ।

आदीवासी समुदायमा सिरुवा पर्वमा महाराज थानमा लगाईने मेलामा महाराजको पूजा गर्दा धामीलाई महाराज पुर्कान माझी ढोल बाजा अनिवार्य रहेको बजरा माझी बताउँछन् । यसका साथै दशैँमा गरिने दुर्गा पूजा, महाशिवरात्री र विवाहमा पनि यो बाजा आदीवासी समुदायमा नभई नहुने बाजा हो । यो बाजा बजाउने मान्छे नहुदाँ लोप हुने अवस्थामा पुगेको छ । कुनै पर्व आउनु अगाडी बाजा बजाउने मान्छे खोज्न हिनुपर्ने बाध्यता रहेको बजरा माझीले बताउँछन्।

गाउँमा बाजा बजाउने सिप भएका व्यक्तिहरु नभएकाले आफुले मोरङ्गको चौकीघाट सम्म पुगेर बाजा बजाउने सीप भएका मानिसहरु बोलाएर थप सहयोग लिने गरेको बजराले बताए। पछिल्लो समयमा युवा पुस्ताहरुले बाजा बजाउन नसिक्दा पौराणीक काल देखि बजाइदै आएको बाजा बजाउनै व्यक्ति नहुदा आदिवासी समुदायको सस्कार, संस्कृति र परम्पराहरु संकटमा पर्न सक्ने गौरादह नगरपालिका वार्ड नं.८ का विष्णु माझी बताउँछन् ।

माझी ढोल बाजामा कारा, ढोल, सनाई, र्कताल सहित १२ वटा बाजाको आवश्यकता पर्ने बजराले बताए । मेलामा बाजा बजाउदा बढीमा ३ हजार र बिहेमा बाजा बजाउदा बढीमा ३५ हजार सम्म लिने गरेको उनि बताउँछन्। आदिवासीहरुको बाहुल्यता रहेको क्षेत्रमा यो बाजा अति आवश्यक रहेतापनि माझी ढोल बाजा संरक्षणमा कहिं कतैबाट सहयोग नपाएको बजराले गुनासो गरे। पछिल्लो समयमा आधुनिकताको नाममा विभिन्न प्रकारका विदेशी बाजा तथा डिजे बजाउदै नृत्य गर्न रमाउनाले पनि युवा पुस्ताले यो बाजा बजाउन आकर्षित नभएको अनुमान गरेको बजरा बताउँछन।

तपाईको प्रतिक्रिया