Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको उद्घाटन गर्दै उनले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले बालबालिकको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्ने बतए । विद्यालयहरू एकापसमा गाभेर गुणस्तरमा ध्यान दिनसमेत आग्रह गरे । मन्त्री पोखरेलले भने, निजी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको छ तर नाफामुखी नभइ लोककल्याणकारी ढङ्गले चल्नुर्छ । समाजवादउन्मुख संविधानको भावनाबमोजिम सामुदायिक विद्यालयहरू गुणस्तर वृद्धिमा लाग्नुपर्छ ।

उनले राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारित रही विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्चशिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणका क्रममा सरोकारवालासँग निरन्तर छलफल गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया