Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १ फागुन । सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो । दुई चरणमा सञ्चालन गरिने यो अभियान पहिलो चरणमा प्रदेश नम्बर एक, दुई र पाँचका ३५ जिल्लामा सुरुवात गरिएको हो ।

अभियानको दुई चरणमा ९ महिनादेखि ५ वर्र्षसम्मका करिब ३० लाख बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ । चैत्रमा खोप अभियानको दोस्रो चरण सञ्चालन हुनेछ । दोस्रो चरणमा बाग्मती,गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ जना बालबालिकालाई खोप दिइने तयारी गरिएको खोप शाखाले जनाएको छ ।

सोही अभियानमा झापादेखि कञ्चनपुरसम्मका तराईका १६ जिल्लाका सबै बालबालिकालाई दादुरा र रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाइने जनाइएको छ । सो अभियानमा चितवन र नवलपरासी भने समेटिएका छैनन् ।

दादुरा र रुवेला खोप अभियान सन् २००४ बाट सुरुवात गरिएको हो । त्यसपछि हरेक चार—चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन २००४, २००८, २०१२ र २०१६ सञ्चालन भैसकेको छ ।

तपाईको प्रतिक्रिया