Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, २८ माघ । मानव तस्करी गर्ने गिरोहले अवैध बाटो प्रयोग गरेर दुईजना नेपाली युवतीलाई कुवेत पुर्‍याउने प्रयास गरेका छन् । घरेलु कामदारका रूपमा लैजान लागिएका सिन्धुपाल्चोकका २० / २२ वर्षीया युवतीलाई विराटनगरबाट उद्धार गरिएपछि यो रहस्य खुलेको हो ।

उद्धार गरिएका मध्ये २२ वर्षीया युवती विवाहित हुन् । पारिवारिक सल्लाहमै कुवेत जान घरबाट निस्किएकी थिइन् । उनका श्रीमान् र अढाई वर्षका छोरा छन् । भारतको जोगवनी बजार पुर्‍याउनै लाग्दा प्रहरी र आफन्त नेपाल नामक संस्थाको सक्रियतामा विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट उनीहरूलाई उद्धार गरिएको छ । ढाटबाट लगभग एक सय मिटर दक्षिणमा जोगवनी पर्छ । समयमै उद्धार गर्न सकिएका कारण दुई नेपाली चेली अवैध बाटो हुँदै कुवेत पुग्नबाट जोगिएका छन् । घरेलु कामदारका रूपमा महिलालाई कुवेत लैजान पाइँदैन ।

भारतीय भूमि पुर्‍याउनै लाग्दा उद्धार गरिएपछि अवैध रूपमा कुवेत लैजान खोजिएको पत्ता लागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । शंकास्पद रूपमा भारततिर जाँदै गरेको अवस्थामा उद्धार गरिएपछि अलमलमा परेका उनीहरू बीचमै कुरा नमिलेपछि थप सोधपुछ गर्ने क्रममा कुवेत लैजान खोजिएको पुष्टि भएको उनको भनाइ छ ।

उनका अनुसार कुवेत पठाउने भन्दै सिन्धुपाल्चोकका अर्जुन तामाङले काठमाडौं बोलाएर दुवै युवतीको पासपोर्ट (राहदानी) बनाइदिएको खुलेको छ ।

राहदानी बनाउन एक रूपैयाँ पनि पैसा तिर्न नपरेको युवतीले बताए । उनीहरूका अनुसार पासपोर्ट बनाउनेदेखि सिन्धुपाल्चोकबाट काठमाडौं आउजाउ गर्नेसम्मको सबै खर्च तामाङले नै गर्ने गर्थे । तामाङ र विराटनगर ५ का राजुप्रसाद रिजालबीचमा उनीहरूलाई जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली पुर्‍याएपछि त्यहाँबाट कुवेत लैजाने योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए ।

तामाङ र रिजाल मानव तस्करी गर्ने गिरोहमा आवद्ध रहेको प्रहरीको दाबी छ । त्यही योजनाअनुसार तामाङले काठमाडौंबाट माघ २१ गते दुवै युवतीलाई काँकडभिट्टा जाने बस चढाइदिएका थिए । पासपोर्ट साथमै भए पनि कसैलाई नदेखाउन उनले आग्रह गरेका थिए ।

श्रम स्वीकृति नपाएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पठाउन नसकिने भनेर तामाङले पूर्वी नाका काँकडभिट्टाबाट नयाँ दिल्ली हुँदै कुवेत लैजान सकिने आश्वासन दिएर आफूहरूलाई बस चढाइदिएको युवतीहरूले बताएका छन् । तर उनीहरूलाई २२ गते बिहान ४ बजे इटहरीमै ओरालियो । राति नै भएकाले उनीहरू अलमलमा परे । युवतीहरूले तामाङसँग फोन संवाद भएपछि आफूहरूलाई सहचालकले नै इटहरीबाट विराटनगरको बस चढाइदिएको बताए ।

काँकडभिट्टा पुर्‍याउनुको साटो इटहरीबाट अर्को बसमा चढाउँदै सिधै विराटनगर ल्याएर एउटा गेस्ट हाउसमा राखिएको खुलेको प्रहरीले जनाएको छ । पढ्न समेत नजान्ने दुवै युवतीले आफूहरूलाई राखिएको गेस्ट हाउसको नाम थाहा नभएको बताएका छन् । इन्सपेक्टर थापाका अनुसार विराटनगर बसपार्कमा बसले झारिदिएपछि सम्पर्कमा पुगेका रिजालले उनीहरूलाई लगेर गेस्ट हाउसमा राखेर विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मीसँग सम्पर्क गराइदिए ।

त्यसपछि त्यही गेस्ट हाउसमा उनीहरूबीचमा नेपाल कटेर कसरी जोगवनी प्रवेश गर्ने भन्ने योजना बन्यो । ‘विदेश जाने भनेपछि चिटिक्क पर्दै सजिएर युवती बसेका रहेछन्,’ इन्सपेक्टर थापाले भने, ‘तर किनमेलका लागि गएको देखाउन सामान्य खाले कपडा लगाउन रिजालले आग्रह गरेपछि युवतीहरूले पोशाक परिवर्तन गरेछन् ।’ उनकाअनुसार कोही कसैले सोधेमा विराटनगरमा बिरामी रहेका आफन्तलाई भेट्न आएको र किनमेलका लागि जोगवनी गएको भनेर भन्न युवतीलाई सिकाइएको थियो ।

त्यसपछि कुर्मी युवतीलाई साथमा लिएर रानीतर्फ जाने बस चढे र रिजाल युवतीका सामान तथा पोसपार्टसहितको झोला मोटरसाइकलमा राखेर जोगवनीतिर लागे । भन्सारको ढाटमा युवतीहरू र अलि अघिअघि हिँडिरहेका कर्मीमाथि सोधपुछ हुन थालेको देखेर रिजाल त्यहीँबाट फरार भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर युवतीहरूले तामाङ, रिजाल र कुर्मी विरुद्ध किटानी जाहेरी दिएका छन् । तामाङ र रिजाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मी विरुद्ध मानव बेचबिखन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । उद्धार गरिएका युवतीलाई आफन्त नेपालकै संरक्षणमा राखिएको छ ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया