Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २३ माघ । ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले प्रत्येक ट्यांकरमा तीन प्रकारका ताल्चा लगाउने भएको छ। निगमले दोस्रो चरणमा डिपोबाट पम्पसम्म इन्धन पुर्‍याउने ट्यांकरमा ताल्चा जडान गर्न लागेको हो।

यसअघि पहिलो चरणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को सिलिगुढी, बरौनी र रक्सौल रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने करिब दुई हजार ट्यांकरमा ताल्चा जडान गरिएको थियो। दोस्रो चरणको ताल्चा जडान गर्ने कार्य सुरु गर्न लागिएको हो।

निगमका इन्जिनियरिङ विभागका प्रमुख पूर्ण रिजालका अनुसार ट्यांकरमा ताल्चा जडानका लागि टेन्डर आह्वान गर्न सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको छ। दुई सातापछि टेन्डर आह्वान गर्ने प्रक्रियामा पुगेको र टेन्डर आह्वान गरी आगामी पाँच महिनाभित्रमा सम्पूर्ण ट्यांकरमा ताल्चा जडान गरिसक्ने उनले बताए । उनका अनुसार पहिलो चरणअन्तर्गत भारतबाट नेपालको डिपोसम्म आउने ट्यांकरमा जडान गरिएको ट्यांकरमै दोस्रो चरणमा पुनः तीन प्रकारको ताल्चा जडान गर्न लागिएको हो।

पहिलो चरणको लकिङ प्रणाली जडान पश्चात निगमले इन्धनको चोरीसम्बन्धी घटना नियन्त्रणमा आएको दाबी गरे पनि भारतबाट इन्धन ल्याउने ट्यांकरबाट दुई हजार पाँच सय लिटर डिजेल चोरी भएको थियो।

दोस्रो चरणको ताल्चा प्रणाली र तेस्रो चरणको ट्र्याकिङ प्रणाली जडान पश्चात इन्धनको चोरी नियन्त्रण हुने निगमको दाबी छ। ट्यांकरमा ताल्चा प्रविधि जडान नहुँदासम्म चालकले टेम्प्रेचर लसको नाममा २० हजार लिटरको ट्यांकरबाट झन्डै ४० देखि एक सय लिटरसम्म चोरी गर्दै आएका थिए।

गोइतका अनुसार निगमको डिपोबाट पेट्रोल पम्पसम्म इन्धन पुर्‍याउने ट्यांकरमा आफ्नै लगानीमा पेट्रोल, डिजेल र मट्टीतेलको छुट्टाछुट्टै तीन प्रकारको ताल्चा जडान गर्न लागिएको हो।
एउटा ताल्चाको मूल्य करिब साढे ६ हजार रुपैयाँ पर्छ। यसरी एउटा ट्यांकरमा तीनवटा जडान गर्न १९ हजार पाँच सय रुपैयाँ निगमले खर्च गर्नुपर्ने हुन्छ। करिब दुई हजार ट्यांकरमा तीनवटाको दरले ६ हजार ताल्चा जडान गर्न करिब तीन करोड ९० लाख रुपैयाँ लाग्ने निगमले जनाएको छ। यसअघि पहिलो चरणमा ट्यांकरमा जडान भएको ताल्चा आईओसीले निः शुल्क निगमलाई उपलब्ध गराएको थियो। आईओसीले एउटा ताल्चा जडान गर्न दुई हजार ६ सय रुपैयाँ खर्चेको थियो।

निगमका अनुसार दोस्रो चरणमा ट्यांकरमा जडान गर्न लागिएको ताल्चा विशिष्ट प्रकारको हुनेछ। तीन प्रकारको ताल्चाको तीनवटा छुट्टाछुट्टै साँचो हुनेछ। ती तिनै प्रकारको साँचो पम्प सञ्चालकलाई उपलब्ध गराइनेछ। पम्प सञ्चालकले आफूलाई चाहिएको इन्धनअनुसार साँचोले ट्यांकरको च्याम्बर खोलेर इन्धन अनलोड गर्न सक्नेछ। तर सबै ट्यांकरको साँचो भने एक अर्कोमा काम नगर्ने प्रकारको हुनेछ। यसका साथै निगमको डिपोमा सबै ट्यांकरको तीनवटै ताल्चा खोल्ने एउटै मास्टर साँचो हुनेछ।

आईओसी र निगमबीच भारतमा लकिङ प्रविधि सुविधा जडानबारे दुईपक्षीय सहमति भएको थियो। ट्यांकरबाट मिलेमतोमा वार्षिक करोडौंको इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण गर्न निगमले २०७४ जेठ १ गतेदेखि सम्पूर्ण ट्यांकरमा लकिङ सुविधा जडान गर्न योजना कार्यान्वयनमा ल्याएको थियो।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया