Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महिनामा नेपालबाट विप्रेषण (रेमिटेन्स)मार्फत रू.१ अर्ब ३१ करोड रकम बाहिरिएको छ । गत आवको प्रथम त्रैमासमा विप्रेषणमार्फत रू.१ अर्ब ८ करोड बाहिरिएको थियो । चालू आवको प्रथम त्रैमासमा विप्रेषण उत्प्रवाह (बाहिर जाने)२१ दशमलव २९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नेपालका विभिन्न प्रतिष्ठानमा कार्यरत विदेशी कामदारहरूले उक्त रकम विदेश पठाएका हुन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपालबाट वार्षिक रू.१० अर्बभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको छ । गत आव २०७५र७६ मा विप्रेषणमार्फत कुल रू.१० अर्ब ८० करोड रकम बाहिरिएको थियो, जुन आव २०७ं४/७५ को तुलनामा ८६ दशमलव २० प्रतिशतले बढी हो । आव २०७४/७५ मा रू.५ अर्ब ८० करोड बराबरको विप्रेषण उत्प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ ।

नेपालबाट कुन देशमा कति विप्रेषण उत्प्रवाह भयो भन्ने विषयमा भने राष्ट्र बैंकसँग यकिन तथ्यांक छैन । तर, नेपालदेखि भारतमा सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । नेपालमा भारतका कामदार बढी भएकाले त्यहाँ सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले नेपालबाट यति विप्रेषण उत्प्रवाह हुनु स्वाभाविक भएको बताए । ‘आर्थिक वृद्धिदर बढाउन विदेशी जनशक्ति पनि आवश्यक हुन्छ । अहिले देशको आर्थिक वृद्धिदर बढिरहेको छ । तसर्थ, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं,’ उनले भने, ‘मुलुकको आर्थिक वृद्धिदर घट्ने र विप्रेषण उत्प्रवाह बढ्ने गरेको भए अर्थतन्त्रमा नकारात्मक असर गर्ने थियो ।’ नेपालमा वार्षिक रू.८ खर्बभन्दा बढी विप्रेषण आप्रवाह हुने गरेको छ । आर्थिक अभियान दैनिक

तपाईको प्रतिक्रिया