Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

                                    गणेश कार्की, दमक, झापा
राष्ट्रिय तथा सामाजिक इतिहासमा थुप्रै घटना घट्छन् । कुनैले लामो चर्चा पाउछन्, संचारमा पनि निकै ठाउँ पाउँछन् । तर गरिव, सुकुम्वसी, निमुखा मथि भएको आततायी घटनाहरु बर्षातको पानीले रगत पखालिए पछि चर्चा हराउछ । मानस पटलबाट सम्झना हराउछ र तिनका आफन्तका आँखाबाट वगेका आँशुहरुमा पनि खडेरी लग्न थाल्छ ।

म करिब ९ बर्षको हुँदो हुँ । झापाको दमकलाई दमक नै भन्थे । बह्रघरे, हिमालय गुडरिक (टी गार्डेन) हालपनि राज्यको नियन्त्रण र निगरानी भन्दा बहिर छ । गणतन्त्र आएपछि पनि शाही शासक परिवारले राजस्व तिर्नपरेको छैन रे भन्ने सुनिन्छ । के कति साँचो हो संबन्धित निकायलेनै जानोस ।

हालको चियाबगान भएको स्थानमा २ सय ४१ घर सुकुम्बासीको वस्ति थियो । सिरु र काँसघारी तिनीहरुले फाँडे, बाघलाई लखेटे, गोमन मारे, मच्छेडलाई धुँवा लगाए । आकासे बर्षाको भरमा खेती लगाए । २०१८ साल कार्तिक महिना हुनुपर्छ धान पसाउन थाल्यो । कहिले मंसिर लाग्छ र पेटभरी बालबच्चालाई खुवाउँला भन्ने आशामा थिए सुकुम्बासी जनताहरु । २०१८ माघमा अत्यन्त बिनासकारी भुकम्प आउने भबिष्यवाणी चल्यो । सर्बत्र त्रास फैलीयो । सबैले घर छाडे र खेतमा छाप्रो हाले ।

ब्यक्तिगत, समुहिक बसोबासमा केही दिन वित्यो । प्रलयकारी भुकम्प हल्लामै हरायो । तर दर्भाग्य अर्को आततायी भुकम्प सुरु भयो । शाही शासन कालमा देशको सबै भुभाग शाही परीवारको निजि हुदो रहेछ, जसलाई दान, दाइजो जे दिएपनि हुने । सामन्ती राजा महेन्द्रले भाइ हिमालय र तत्कालिन शाही मितेरी सन्तवीर लामालाई उक्त ८०० बिघा (हाल टी गार्डेन )जग्गा बगान लगाउन दाइजो दिएको रहेछन् । जहाँ २ सय ४१ घर सुकुम्बासी बस्थे ।

धान काटेर कुनिउँ लगाएर थुपारेका थिए । कतिले दाँइ गरीसकेका थिए । अकस्मात उर्दी आयो तुरुन्त बस्ति उठाउ, घर छाड ! यहाँ चिया बगान लग्छ । यो राजाको हुकुम हो । यो उर्दीले बस्तिका सुकुम्बासी, किसान सबै आत्तिए, अड्डा अदालत सबै गुहारे आफ्नो क्षामता अनुसार तर कसैले सुनेन । राजा महेन्द्र समक्ष बिन्ति पत्र पठाए बास नउठोस भनेर तर कसाइले बाख्राको रोदन किन सुन्थ्यो ।

२०१९ साल माघमा किसानहरु बास उठ्ने त्रासका बीच बाली थन्क्याउने ध्याउन्नमा थिए । त्यसै बखत दमक बजारबाट दर्जनौं लाठी, खुकुरी, भालाले सजिएका लठैत तथा पुलिसहरु केही हात्ती सहितका डफ्फा बस्तीमा पस्छन् । गाली गलौज, डर, त्रास देखाउदै घर बस्ती छाड्न चेतावनी दिन्छन् । बबुरा किसानले प्रतिवाद गर्ने कसरी सहास गर्न सक्थे ?

सामान्ती राजतन्त्रका भाडाका मतियार संग । कसैले बिन्ती भाउ गरे तर कसैको सुनुवाइ भएन । धमाधम घरमा तथा धानका कुन्युमा आगो लगाउन थालियो । महिलाहरु साना साना ननीहरु सम्हाल्दै भग्न थाले । बुढा बुढीहरु सराप्दै चारै दिशा दौडादैड मच्चियो । त्यस रात नलबारी धिमाल बस्ति, मोरङ्गका आमबारी, मधुमल्ला सम्म बास खोज्दै, रुदै, चिच्याउदै आँशु र पसिना सहित पुगे सुकुम्बासीहरु ।

दोस्रो दिनपनि केही बाँकी घरहरु हटाउन भनि अघिल्लो दिनको जथ्था तयारीका साथ आयो । कसैले मुखले प्रतिबाद गरे , पिटाइ खाँदै पछि हटे । तर एक जना शाहासी जवान निस्कीए लाठी खकुरी सहित प्रतिकारमा । ती थिए कान्छा खरेल ( वास्तविक नाम थाहा भएन) । अपराधी लठैत हरुको जथ्थासंग एक्लो कान्छा खरेलको के लाग्थ्यो र उनी कुटीए, चकना चकना हुनेगरी काटिए ।

रगतको पोखरी बाट केही बस्ती बासीहरुले कपडाको झोलुंगोमा बोकेर अघिपछि पुलिस सहित दमक चोक तर्फ लगियो तर उनको प्राण गैसकेको थियो । उनको लासलाई कहाँ लगियो सायद पुलिसकै घेरामा कतै लगेर गाडियो होला । धेरै दिनसम्म घटना स्थलबाट दमक सम्म रगतका टाटा देखिन्थे । ती वहादुर खरेलका परिवार कहाँ गए ? कसैले खोजीपनि गरेन ।

मेरो परिवारपनि आगोबाट बचेका पोका पन्तौरा बोकेर आसाम भारत तर्फ लाग्यो । जीवन चक्र जस्तै रहेछ । घुम्दै फिर्दै फेरी केही बर्ष देखि दमक बजारमै दःखका दिन बिताउदैछु । हिमालय गुडरिकका चियाका बोटहरु जो गरिब किसान कान्छा खरेलका रगतले सिंचित छन् । बसमा राजमार्गबाट यात्रा गर्दा म सधैं ति बिभत्सब दृस्य सम्झने गर्छु ।

तपाईको प्रतिक्रिया