झगेन्द्र खड्का
गौरिगंज, ६ असोज । गौरिगंज स्थित आठमौजा छोटि भन्सार कार्यालय सहयोगी कर्मचारी कै भरमा चलेको छ। गौरिगंज गाउपालिकामा रहेको छोटि भंसार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारि नबस्दा सोचे अनुसारको राजस्व संकलन हुन नसकेको स्थानियबासी बताउछन ।
भंसार कार्यालयमा नासु सहित ३ जना कर्मचारिको दरबन्दी छ । कार्यालयमा कार्यालय प्रमुख नासु नियमित बस्दैनन । कार्यालय सहयोगि कर्मचारी २ जना रहे पनि पालै पालो एक जना बस्ने गर्दछन । भंसार कार्यालयका कर्मचारी एक जना बसेर अन्य कर्मचारी बिरामी भएको वा अति आवश्यक काममा बाहिर गएको बहाना बनाई पशु क्वारेन्टाइनका सहयोगी कर्मचारीलाई पनि भंसार काट्न लगाएको पाईएको छ ।
कार्यलय प्रमुख नबसि सहयोगिको भरमा काम गर्दा ब्यापारीहरूले थोरै मात्रामा भंसार काटि ठुलो परिमाणमा सामान भित्र्याउने गरेका छन।यसबाट राजस्व चुहावट हुदा राज्यलाई ठुलो नोक्सानि हुने गरेको छ । सिमा क्षेत्रमा सशस्त्र प्रहरी र राजस्व संकलनका लागि नेपाल प्रहरीले सहयोग गरेपनि भंसार कर्मचारीको अनियमितताका कारण राजस्व कम उठ्ने गरेको छ। व्यापार गर्न व्यापारीहरूले भारतबाट चिनि, प्याज, लसुन, , तेल, नुन, लत्ता कपडा, मसला ,माछा, मल, मेसिनरी पार्टपुर्जा, ब्याट्री , बिजुलीको सामान लगायतका सामानहरू आयात गर्ने गरेका छन ।
नेपाल सरकारले निकै ठुलो लगानि गरेर कार्यालय भवन बनाएको छ । कार्यालयमा कर्मचारिका लागि आवश्यक पर्ने टेबल, कुर्सी, दराजका साथै अन्य सामग्रीहरूको ब्यबस्था गरेको छ। सबै कुराको ब्यबस्था भएता पनि ठुला भंसार कार्यलयको तुलनामा राजस्व संकलन हुने नभए पछि छोटि भंसार कार्यलयहरूमा कर्मचारि बस्न चाहँदैनन ।
झापा जिल्लामा रहेका छोटि भंसार कार्यालयहरू मध्ये गौरिगंज सबै भन्दा बढी राजस्व संकलन हुने क्षेत्र हो । भारत सँग सिमाना जोडिएको गौरिगंज गाउँपालिकामा २ वटा नाका रहेका छन । नेपाल भारत सामान ओसार पसार गर्ने बैरिया र फत्तेपुर नाका रहेका छन । दुबै नाका प्रयोग गरि ब्यापारीहरूले ब्यबसाय गर्न सामान ओसार पसार गर्ने गर्दछन । कार्यालयमा दरबन्दी अनुसारका कर्मचारि बसेर दुबै नाकामा कर्मचारिले निगरानि बढाई भंसार काट्ने हो भने बिगतको भन्दा बढि राजस्व संकलन हुने स्थानीयबासी बताउँछन ।
गौरिगंजमा रहेको भंसारलाई स्तरोन्नति गरेर पटके पुर्जी काटीनुका साथै सबै प्रकारको भंसार पुर्जी काटिने हो भने मासिक लाख भन्दा बढी राजस्व संकलन गर्न सकिने गौरिगंज उद्योग बाणीज्य संघका अध्यक्ष मखना महत्तो बताउछन । मेची भंसार कार्यालय काँकडभिट्टाको माताहातमा रहेको छोटि भंसार कार्यलयमा महिनै पिछे कर्मचारि हेरफेर हुने गरेकाछन । मेचि भंसार कार्यालयले कर्मचारि पठाए पनि कार्यालय प्रमुख नआई सहयोगी कर्मचारि आलोपालोमा एक जना मात्र कार्यलयमा बस्ने गरेका छन । मुख्य भंसार कार्यालयका कर्मचारिलाई छोटि भंसार कार्यालयमा आउदा आराम गर्ने समय भएको स्पस्ट देखिन्छ ।कर्मचारि नियमित कार्यालयमा समय सम्म नबस्दा राजस्व चुहावट भई सोचे अनुसार राजस्व नउठ्ने देखिन्छ ।
आठ मौजा छोटि भंसार कार्यलय गौरीगंजमा आर्थिक बर्ष २०७४/०७५ मा २ लाख २६ हजार ३ सय ८० राजस्व संकलन भएकोमा आर्थिक बर्ष २०७५/०७६ मा ६ लाख १४ हजार ५ सय १० रूपैया राजस्व संकलन भएको थियो । यस आर्थिक बर्षको साउनमा २३ हजार ७८ र भदौमा ४० हजार ४ सय ८९ रूपैया राजस्व संकलन भएको भंसार कार्यालयले जनाएको छ। भंसारमा दरबन्दी अनुसार कर्मचारी दुबै नाकामा बसेर भंसार काटेमा सोचे भन्दा बढी राजस्व संकलन हुने देखिन्छ ।






