Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

                     रमेश गुरागाईँ

           स्मृतीको पानाबाट २०७०

दमक थाना रोडस्थित पार्टीको सम्पर्क कार्यालयबाट बिहान ११ बजेपछि निस्किएको एक टोली इलाका प्रहरी कार्यालयको उत्तरपट्टिबाट पूर्व हानियो । पार्टीका जिम्मेवार कमरेडहरु रमेश गुरागाईँ, अखिलेश्वरलाल दास, पर्शुराम सञ्जेल, कृष्ण बहादुर गोले, प्रेम विमली, रवी वस्नेत, लक्ष्मी खतिवडा, गजिन्द्र लिम्बू, रविन घिमिरे लगायतको टोलीलाई अगुवाई गर्दै हुनुहुन्थ्यो, स्थानिय कमरेड गणेश श्रेष्ठले ।

अघि बढेका मोटरसाइकलहरु रतुवा खोला किनारबाट गएको दमक चक्रपथमा पुगेर उत्तर लागे । केहीबेरमै बाटाको पुर्व पर्ने एक काठको घरमा पुग्दा सपरिवार स्वागत गर्न पर्खिरहनुभएको रहेछ ।

‘केही बेर ढिलो भयो त ?’ भाका मिलाउँदै कमरेड लालसुन्दर राईले आगन्तुकहरुलाई स्वागत गर्नुभयो । उहाँ हुनुहुन्थ्यो, जनयुद्धका महान शहीद कमरेड तविन राई (ज्वाला) को आदरणीय बुुबा । उहाँलाई साथ दिन शहीद आमा धनकुमारी राई र वरपरका शुभचिन्तकहरु पनि उपस्थित हुनुहुन्थ्यो । केही बेरमा वडा समितिका कमरेडहरु डिबि सुब्बा, गुमानसिंह तामाङ्ग सहित त्यहाँ थपिनुभयो । पार्टीका नगर समन्वय समिति इन्चार्ज रमेश गुरागाईँले शहीद क. ज्वालाको फोटो अंकित स्मृति पत्र वाचन गरेर सुनाउनुभयो र अखिलेश्वरलाल दासले फ्लेक्स प्रिन्ट गरिएको स्मृति पत्र परिवारलाई हस्तान्तरण गर्नुभयो । परिवारको तर्फबाट यस्ता कार्यक्रमको निरन्तरता आगामी दिनमा पनि हुनुपर्ने भन्दै धन्यवाद बिदाइ गरेपछि त्यहाँबाट टोली अगाडि बढ्यो ।

२०५२ साल फागुन १ गते माओवादीको नेतृत्वमा महान् जनयुद्ध शुरु भएको थियो । त्यही महिनाको १४ गते प्रहरीले गोली हानेर गोरखाका दिलबहादुर रम्तेलको हत्या ग¥यो । उहाँ जनयुद्धका पहिलो शहीद हुनुभयो । २०२९ सालमा झापा विद्रोहको बेला फागुन २१ गते ५ जना क्रान्तिकारीहरुको हत्या सुखानीमा गरिएको थियो । फागुन महिनाको यी दुई दिनलाई माओवादीले ऐतिहासिक भन्दै एउटै पदावलीले जोडेको थियो । त्यो हो, शहीद सप्ताह ।

प्रत्येक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म मनाइने शहीद सप्ताहको अवसर पारेर दमक नगर समन्वय समितिले २०७० फागुन २० गतेका दिन शहीद तथा बेपत्ता योद्धा परिवारको घरघर पुगेर भेटघाट तथा फोटो अंकित स्मृति पत्र हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । र, कार्यक्रमको शुरुवात दमक १२ बाट भएको थियो ।

निर्धारित समय अनुसार ठीक १२ बजे कमरेड लालसुन्दर राई समेत थपिएको टोली बेपत्ता योद्धा कमरेडद्वय पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको दमक १ स्थित घर पुग्यो । आमा चन्द्रकुमारी र बुबा भीम बहादुरसँग भेटघाट र कार्यक्रम सकेपछि आमाले पार्टीमा माथिबाट गम्भीर हुनुपर्ने र तलबाट खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको हुँदा यसमा सचेत हुन सुझाव दिनुभयो । आमा गत संविधानसभाको चुनावमा समानुपातिकतर्फ उम्मेद्वार समेत हुनुहन्थ्यो ।

करिब ६ किमि यात्रा तय गरी दमक ७ स्थित शहीद राजेन्द्र पोख्रेलको घरमा पुग्दा त्यहाँ वडा संयोजक कमरेड हरिलाल धिमालको एक टोली स्वागत गर्न तयार थियो । घरमा एक छोरा र श्रीमानको निधनपछि परिवारमा एक्ली हुन पुगेकी आमा कृष्ण कुमारी पोख्रेल मात्र हुनुहुन्छ भन्ने जानकारी थियो । साथमा विवाहित छोरी र नातिनी सान्तवनाका लागि त्यहीँ रहेकाले पीडा कम भएको अनुभूति हुन्थ्यो । आमाले घर निर्माणमा पार्टीको तर्फबाट सहयोग हुने अपेक्षा गर्नुभएको रहेछ, जुन त्यहाँ व्यक्त गरेर मन हलुका पार्नुभयो ।

दमकबासी जनसमुदायलाई जानकारी नहुन सक्छ कि पश्चिमी सिमा मावा खोलापारि पनि दमक पर्दछ । हो, दमक वार्ड नं. १७ को केही भाग मावापारि रहेको छ । शहीद कमरेड राम प्रसाद गौतम (विवेक) को घर पनि त्यहीँ पर्दछ । आमबाडी भनेर चिनिने त्यो ठाउँमा पुग्न मोरङ्गको उर्लाबारीबाट दक्षिण झर्नुप¥यो ।

ठिक २ बजे शहीद परिवार भेटघाटमा पुग्दा स्थानिय पुराना कम्युनिस्ट तथा माओवादी वडा नेताद्वय गंगा बहादुर धिमाल र कृष्ण लिम्बू सहित साथीहरु बुबा हरिकृष्ण गौतमसँगै प्रतिक्षारत हुनुहुन्थ्यो । पहिलोपटक त्यहाँ पुग्नु हुने कमरेडहरुसँग चिनजान पनि भयो । एक मात्र छोरा शहीद र सबै छोरीहरुको विवाह भएपछि बुबा र आमा घरमा बाँकी हुनुहुन्थ्यो ।

बुबालाई मात्र घरमा देखेपछि प्रश्न – ‘आमा खोइ त, बुबा ?’ ‘तपाईहरुसँग भेटेर कुरा गर्दा पछि धेरै बेरसम्म छोराको यादले स्तब्ध हुने भएकाले गाउँतिर लागेकी छे । यहाँबाट सबै गएपछि मात्र आउने रे ।’ बुबाको जवाफसँगै नाजवाफ हुँदै केहीबेरको भलाकुसारीपछि टोली पुनः उर्लाबारीको बाटोबाट दमक १६ स्थित तुलसी प्रसाद न्यौपानेको घरमा पुग्यो ।

दारेगौडा सागफारा ईलाममा शहादत भएको हो, कमरेड डिल्लीप्रकाश न्यौपाने (उज्ज्वल) को । बुबा अन्यत्रै जानुभएको पूर्व जानकारी थियो । भाइ उत्तमसँग भेटघाटपछि सामुहिक तस्वीर खिचाएर टोली गन्तव्यतर्फ लाग्यो ।
क्याम्पस मोडबाट पूर्वपश्चिम लोकमार्ग छाडेर उत्तरतिर लाग्दा शहीद कमरेड विष्णु प्रधानकी बहिनी माया प्रधानले घरमा घेटघाटका लागि आउन खेतमा काम गरिरहेका आमाबुबालाई फोनबाट खबर गरेको जानकारी आयो ।

घरमा पुगेको केही बेरपछि आमा लीलामाया प्रधान टुप्लुक्क आइपुग्नुभयो । एक्लै आएको देखेर जिज्ञासा राख्दा आमाले भन्नुभयो, ‘बुबा खेततिर हुनुहुन्छ ।’ औसत मानिसहरु यो उमेरमा घरमा आराम गरेर बस्छन् तर आमाबुबाको दिनचर्या यही हो ।
जानीजानी प्रश्न, ‘काम छुट्ला भन्ठानेर हो कि ?’ ‘होइन, सबै कुरा मैले गरिहाल्छु भनेर’ आमाको जवाफ । ठीक हो ।

भोजपुरबाट बसाइँसराइँ गरी आएका यी बूढाबूढीमध्ये बूढी फरवार्ड हुनुहन्छ । सायद, त्यसैले होला, कसैले प्रतिप्रश्न गरेन । केहीबेर भलाकुसारी भयो । फोटो खिचियो । त्यसपरिवारको मुख्य समस्या हो, अंशवण्डा । पार्टीको तर्फबाट आगामी दिनमा सकेसम्म समाधान गर्नैपर्छ । पार्टीसँग ठूलो अपेक्षा पनि छ, उहाँहरुको ।

महान् शहीद शम्भु राजवंशी (दीपक) की जीवनसंगिनी रंगवती राजवंशी केही वर्षअघिदेखि दमक १४ मा लोकमार्गसँगै जोडिएर होटल व्यवसाय गर्नुहुन्छ । महाभारा–७ मा खेती गर्दै आउँदा जनजीविका त्यति सहज नभएकाले ज्वाइँ पासाङ्ग र छोरी सरस्वतीकै आसपासमा रहेर आफ्नो पेशा सञ्चालन गर्दै आउनुभएकी शहीद परिवारसँग सोही दिन घेटघाट सम्भव भएन ।

कारण, होटलका लागि उहाँ तरकारी किन्न सब्जी बजार जाने समय परेछ । भोलिपल्ट तय गरिएको कार्यक्रममा पार्टीले भेटघाट सम्पन्न ग¥यो । कार्यक्रमको बारेमा जानकारी सहित स्मृति फोटो हस्तान्तरण र फोटो खिचाएपछि शहीद सप्ताह समापन भएको बताउँदै इन्चार्ज कमरेड रमेश गुरागाईँले सहभागी सबै साथीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया